४ असार २०७८, शुक्रबार
२५ भाद्र २०७७, बिहीबार ०८:५७

‘डिजिटल डिभाइस’ को बढ्दो प्रयोग : आँखाको रोग मात्र होइन, ‘ड्रग्स’ जत्तिकै घातक


काठमाडौं। कोरोना भाइरसको महामारीका कारण चैतयता स्कूल बन्द भपछि झापाका रिजन सिवाकोटीको औपचारिक अध्ययन अनलाइन कक्षाको भरमा चलिरहेको थियो। १० भदौ सम्म मोबाइलबाट नियमित अनलाइन कक्षा लिएका १४ वर्षे रिजनको औपचारिक सिकाईमा आजकाल आँखाको समस्या बाधक बनिरहेको छ। 

महिनौंसम्म मोबाइलमा घोरिँदा कक्षा ९ का विद्यार्थी रिजनको आँखामा मायोपिया (टाढा नदेख्ने) समस्या भइसकेछ। त्यही कारण १० भदौयता उनले अनलाइन कक्षामा सहभागिता जनाउन पाएका छैनन्। झापाको भद्रपुर निवासी रिजनलाई मेची आँखा अस्पतालका चिकित्सकहरुको सल्लाहअनुसार आजकाल परिवारले मोबाइल, कम्प्युटर, ट्याबलेट लगायतका विद्युतीय सामाग्री प्रयोगमा बन्देज लगाएको छ। 

कोरोना भाइरसको महामारीका कारण सिर्जित असामान्य परिस्थितिको सिकार हुने झापाका रिजन एक उदाहरणमात्र हुन्। अहिले रिजनजस्तै देशभरका लाखौं बालबालिका प्राकृतिक जीवनशैलीबाट प्रविधिको दुनियामा खुम्चिएका छन्।

अनलाइन कक्षा, गृहकार्य र अन्य गेम तथा सामाजिक सञ्जालले बालबालिकाको घण्टौं समय खाइरहेको हुन्छ। कोरोना भाइरसको संक्रमण हुन सक्ने खतराका कारण घर वाहिर निस्कन आजकाल कठिन छ। त्यसमाथि प्रशासनले लगाएको निशेधाज्ञाका कारण झनै घरभित्र थुनिनु आम नेपालीको नियति बनिसकेको छ। यसरी बाध्यात्मक रूपमा घरभित्र थुनिँदा समय कटाउने र औपचारिक शिक्षा हासिल गर्ने माध्यम पनि डिजिटल ग्याजेट्सहरु नै बनेका छन्। 

डिजिटल दुनियाको यही जबरजस्त उपस्थितिका कारण आजकाल आँखा अस्पताल तथा आँखाका विशेषज्ञहरुको व्यस्तता पनि बढ्न थालेको छ। तिलगंगा आँखा अस्पतालका वरिष्ठ आखाँ रोग विशेषज्ञ डा. श्याम व्यासलाई आजभोलि आँखाको समस्या देखाउँदै फोन गर्ने दिनमा चार/पाँच जना हुन्छन्। त्यसमध्ये धेरैजसो कम उमेरका हुने गरेको उनी बताउँछन्।

“आँखा सुख्खा हुने, आँशु आउँने, पोल्ने, सुत्न नसक्ने, टाउको दुख्ने जस्ता समस्या भन्नेहरूको संख्या आजकाल निक्कै बढेको छ। विद्युतीय सामग्रीको बढी प्रयोगले त्यस्तो भएको उनीहरूलाई थाहा हुँदैन,” डा. व्यासले भने, “डिजिटल डिभाइसको बढी प्रयोगले आँखाको पर्दामा असर गर्छ। अति प्रयोग भयो भने आँखाको पर्दा च्यातिन पनि सक्छ। कम उमेरका बालबालिकाको हकमा त यो झनै खतरनाक हुन्छ।”

मनोविद डा. प्रभावकर पोखरेल डिजिटल ग्याजेट्सको बानी भएपछि बालबालिकाहरू फेरि पुस्तकमा मात्र केन्द्रित हुन नसक्ने बताउँछन्। रातदिन घरभित्रै सिमित हुँदा मोबाइल चलाएर, निद्रामा पनि बर्बराउने समस्या लिएर उनीकहाँ परार्मश लिन आउँने थुप्रै छन्। 

विश्व स्वास्थ्य संगठनले पाँच वर्ष मुनिका बालबालिकालाई एक घण्टाभन्दा कम समय मात्रै डिजिटल उपकरण प्रयोग गर्ने सल्लाह दिएको छ। यसैगरी पाँच वर्षमाथिका बालबालिकाको लागि बारम्बार ब्रेक या विश्रामसहितको निर्देशित समयावधि (दिनमा २ देखि ३ घण्टा) मात्रै प्रयोग गर्नु उचित भनिएको छ। 

विकसित देशहरूका बालबालिकाहरुमा ९० प्रतिशत आँखाको समस्या प्रविधिको बढी प्रयोगले हुने गरेको डा.व्यास बताउछन्। नेपालमा पनि डिजिटल सामग्रीप्रतिको परनिर्भरताले यही जोखिम निम्त्याइरहेको उनको अनुभव छ। 

सन २०१९ मा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार दुई अर्ब ६० करोड मानिसलाई आँखाको रोग मायोपिया लागेको छ। जुन रोगको मूख्य कारण प्रविधिको प्रयोग भएको डा. व्यास बताउँछन्।

एनल्स अफ मेडिकल हेल्थ साइन्स रिर्सचको जर्नलमा प्रकाशित अध्ययनले पनि यसवारे धेरै कुराहरू प्रष्ट पारेको छ। संयुक्त अरब इमिरेट्सका दुई विश्व विद्यालयका ५०० विद्यार्थीहरूमा आँखामा कम्युटरको असरबारे भएको अध्ययनले डिजिटल डिभाइसका कारण ५४.३ प्रतिशतमा बर्निङ सेन्सेन ५३.३ प्रतिशतमा टाउको दुख्ने ५३.३ जस्ता समस्या रहेको देखाएको थियो।

उक्त अध्ययनअनुसार आँखाबाट ५० सेन्टिमिटरभन्दा कम दूरीमा कम्युटरको मोनिटर राखेर चलाउनेको तुलनामा ५०-१०० सेन्टिमिटरको दूरीमा मोनिटर राख्नेलाई टाउको दुख्ने समस्या ३८ प्रतिशत कम देखिएको थियो। 

विकसित देशहरूमा समय-समयमा आँखा जचाउने चलन भए पनि नेपालमा भने कमै मात्र आँखा जचाउन अस्पताल पुग्ने कारण समस्या बढेर दृष्टिविहीन सम्म हुने गरेको घटना थुप्रै रहेको डा.व्यास बताउँछन्।
 
आँखाको रोगलाई निर्मुल गर्ने व्यायाम 

  • नियमित डिभाइस चलाइरहँदा बेलाबेला आँखा झिम्काउने 
  • आँखा दायाँ, वायाँ र तल माथि गरिरहने
  • तातो पानीले आँखा सेक्ने 
  • पानी आँखामा छ्याप्नेभन्दा पनि सफा पानीमा आँखा डुवाउने
  • सुत्नुभन्दा २ घण्टाअघि मोवाईल वा कुनै पनि डिभाईस छुदै नछुने
  • कोठाभित्र कुनै पनि लाइटको ठिक तल बसेर काम नगर्ने 
  • कोठामा काम गर्दा झयालको छेउभन्दा विपरिततर्फ बसेर काम गर्ने 

आँखाको कन्भरजेन्स मसल्स स्वास्थ्य छ छैन पत्ता लगाउन, पिन वा कलमको टुप्पोलाई ८ सेन्टिमिटर नजिक राख्ने, आँखाले त्यसलाई दुईवटा देख्यो भने तपाईको आँखा स्वस्थ्य छैन्। 

डिजिटल डिभाइसले आँखाको रोगसँगै दिमागमा कोकिनको जस्तै असर पार्ने 

महामारीका बेला अनलाइन कक्षाले विद्यार्थी, घरबाटै काम गर्ने सुविधाले कामकाजी तथा समय कटाउनका लागि सामाजिक सञ्जाल चलाउने गृहिणीसम्मलाई स्मार्टफोन, ट्याबलेट, ल्यापटप वा कम्प्युटरको लत बढाएको छ। जुन मानसिक स्वास्थ्यको दृष्टिले पनि खतरनाक हुने सम्बन्धित विज्ञहरू बताउँछन्।

मनोविद डा. प्रभावकर पोखरेल डिजिटल ग्याजेट्सको बानी भएपछि बालबालिकाहरू फेरि पुस्तकमा मात्र केन्द्रित हुन नसक्ने बताउँछन्। रातदिन घरभित्रै सिमित हुँदा मोबाइल चलाएर, निद्रामा पनि बर्बराउने समस्या लिएर उनीकहाँ परार्मश लिन आउँने थुप्रै छन्। 

सन् २०१७ मा विश्वमा टप एडिक्सन एक्सपर्टले राखेको विचार उद्धृत गर्दै बेलायती सञ्चारमाध्यम इन्डिपेन्डेन्टले हालै लेखेको छ, “बालबालिकालाई स्मार्टफोन चलाउन दिनु भनेको एक ग्राम कोकिन दिनुजस्तै हो। उनीहरूका लागि स्मार्टफोन कोकिनभन्दा खतरनाक र हानिकारक हुन्छ।”

त्यस्तै सन् २०१८ मा रिसर्च गेटले ‘स्मार्ट फोनमा बालबालिकाले हेर्ने पोर्न भिडिओको अध्ययन’ भन्ने विषयमा गरेको अध्ययनको निश्कर्ष अझै डरलाग्दो छ। १३ वर्षभन्दा कम उमेरमा बालबालिकाहरू फोनबाटै नग्न तस्वीर साथीहरूलाई पठाउँछन्। जुन कुरा उनीहरूका अभिभावकलाई पत्तोसम्म पनि हुँदैन।

नेपालमा पछिल्लो समय लकडाउन र निशेधाज्ञाका नाममा सार्वजनिक जीवनमा लगाइएका बन्देजपछि इन्टरनेटको प्रयोग ४० देखि ५० प्रतिशतले बढेको नेपाल प्रहरीको अनुमान छ। साइबर व्यूरोका प्रहरी वरिष्ठ निरीक्षक नवीन्द अर्याल यसको उच्च जोखिममा बालबालिका र किशोर-किशोरी रहेको बताउँछन्। 

“आजभोली १२/१३ वर्षका बालबालिकाको पनि आफ्नै मोवाइल र सामाजिक संजालको अकाउन्ट हुन्छ। यसले उनीहरूलाई शारीरिक र मानसिक रोगको शिकार बनाइरहेको छ,” उनी भन्छन्, “त्यसैले अभिभावकले पासवर्ड माग्दा दिएनन भने सतर्क हुनुपर्छ। यदि गलत केही गरेर कानून आकर्षित भएमा बालक, वृद्ध, महिला वा केही भनेर छोड्न मिल्दैन।” 


प्रतिक्रिया दिनुहोस !