१९ मंसिर २०७८, आईतवार
२५ भाद्र २०७७, बिहीबार ०७:४१

गण्डकीमा आज स्टाफ नर्स, प्रहरी सहित थपिए ४९ जना कोरोना सङ्क्रमित


भदौ २५, २०७७ पर्वत : गण्डकी प्रदेशमा बिहीबार बिहान ६ जिल्लाका ४९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्ति अनुसार थपिएकाहरूमा कास्कीको पोखरा महानगरपालिकाका १९ जना, बागलुङको जैमिनी नगरपालिका १ जना, बरेङ गाउँपालिकाका १ जना र गलकोट नगरपालिकाका १ जना छन्।

यस्तै पर्वतका १ जना, तनहुँको भिमादका ३ जना, स्याङ्जाको पुतलीबजार नगरपालिकाका १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिकाका ३ जना र देवचुली नगरपालिकाका १ जना रहेका छन्।

कास्कीको पोखरा महानगरपालिका १५ का २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफ नर्स हुन भने वडा नं. ३२ का ५० वर्षीय पुरुष पनि सोही अस्पतालमा उपचाररत छन्।

पोखरा महानगरपालिका १९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष पर्वतमै नेपाल प्रहरीमा कार्यरत छन्। पर्वतमा कार्यरत ती प्रहरी हालै मात्र काठमाण्डौबाट सरुवा भई आएका हुन्। बागलुङको जैमिनीका ५१ बर्षिया महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छिन्। बाँकी सबै सङ्क्रमितहरू विदेशबाट आएर क्वारेनटाइनमा बसेकाहरू हुन्। अद्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा  कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ हजार ७२८ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !