५ आश्विन २०७८, मंगलवार
२१ भाद्र २०७७, आईतवार ००:१२

‘हटस्पट’ वीरगञ्जमा ठाकुरको क्रान्ति : यसरी सम्हाले अस्तव्यस्त नारायणी अस्पताल


२नम्बर प्रदेशभित्र शुरूमा पर्साको वीरगञ्ज शहर कोरोनाको ‘हटस्पट’ बन्यो । नारायणी अस्पताल वीरगञ्जमा तत्कालीन मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायको नेतृत्वमा संक्रमितको उपचार गरियो । 

संक्रमण व्यापक फैलिएपछि वीरगञ्ज महानगरपालिकाका स्थानीय निकै त्रसित बने । जिल्लाका स्थानीय जनप्रतिनिधि, प्रशासन र सुरक्षा अधिकारी तथा मेसु उपाध्यायको नेतृत्वमा कोरोना रोकथाम र उपचारका काम भए । संक्रमित धेरै भएपछि अस्पतालको जनरल वार्ड बन्द गरेर पूरै अस्पताललाई कोरोना केन्द्रित गरियो, निजी अस्पतालमा समेत आइसोलेसन बनाइयो ।

पहिलो चरणको संक्रमण नियन्त्रण भएपछि पुनः दोस्रो लहर चल्यो । धेरै व्यक्तिमा संक्रमण देखियो । भदौ १८ गतेसम्म पर्सा जिल्लामा मात्रै ३६ संक्रमितको मृत्यु भएको छ भने हालसम्म कूल २ हजार ३०२ जना संक्रमित भएका छन् । 

अस्पतालमा उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीदेखि अन्य कर्मचारीमा समेत कोरोना संक्रमित देखियो । अस्पतालमा शय्या नहुँदा यताउता डुलाउँदा–डुलाउँदै एम्बुलेन्समै संक्रमितको मृत्यु भएका घटना समेत सार्वजनिक भए ।

यसबीच नारायण अस्पतालमा जनरल वार्ड सञ्चालन हुनुपर्ने र सबै उपचार सेवा सञ्चालन हुनुपर्ने माग गरेर आन्दोलन उठ्यो । अस्पतालका चिकित्सक डा. उदय सिंहको गाडीमा तोडफोडसहित दुर्व्यवहार समेत भयो । 

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सफाइकर्मी समेत ७० जना कोरोना संक्रमित भएका थिए । संक्रमित चिकित्सक नै आइसोलेसनमा रहेकाले अस्पतालमा जनशक्तिको अभाव देखियो । स्थानीयको आन्दोलन र आक्रमणपछि अस्पतालका सम्पूर्ण चिकित्सकले एकैसाथ सामूहिक राजीनामा लेखर आन्दोलन थाले । एकातिर स्थानीयको आन्दोलन, अर्काेतिर चिकित्सकको आन्दोलन । विवाद बढ्दै गयो । यति नै बेला तत्कालीन मेसु उपाध्याय स्वास्थ्य मन्त्रालयमा फिर्ता भए ।

मन्त्रालयले भदौ ५ गते नयाँ मेसूको रुपमा डा. संजय ठाकुरलाई पठायो । ‘स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वीरगञ्जमा उत्पन्न भएको संकटको व्यवस्थापनका लागि तराईमा काम गरिसकेको अनुभवी मान्छे तपाईं नै हो भनेर भन्नुभयो,’ डा. ठाकुरले भने, ‘तपाईंलाई जे जस्तो सहयोगको आवश्यकता पर्छ, त्यो सबै गर्न मन्त्रालय तयार छ भनेर भन्नुभयो ।’ जनकपुरमा समेत मेसु भएर काम गरेको अनुभव भएका कारण चुनौतीलाई सहर्ष स्वीकार गर्दै वीरगञ्ज आएको उनले बताए ।

यसरी सम्हाले असहज परिस्थिति

काठमाडौंको वीर अस्पतालबाट वीरगञ्ज आउनुअघि नै उनले सामाजिक सञ्जालका विभिन्न ग्रूपमा चिकित्सकसँग सुझाव सल्लाह मागेर कार्ययोजना बनाए । सबैभन्दा पहिले चिकित्सकको आन्दोलन फिर्ता गराएर अस्पताल सञ्चालन गराउने प्रमुख चुनौती भएका कारण चिकित्सकको सुरक्षाका लागि पहिलो पाइला चालेको उनले बताए ।

काठमाडौंको ट्रमा अस्पतालका निर्देशक डा. प्रमोद यादवसँगको समन्वय तथा बायोमेडिकल इन्जिनीयरको सहयोग लिएर उनले अस्पतालको संरचनामा तत्काल सुधार गरे । ‘बिरामी बाहिर बस्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीभित्र बसेर उपचार गर्नका लागि संरचनागत सुधार गरें,’ ठाकुरले भने, ‘पर्याप्त पीपीई सहितको साधन उपलब्ध गराउनुका साथै चिकित्सकको सुरक्षालाई सुनिश्चित गरें ।’

बिरामीलाई भर्नाका लागि टिकट काउन्टरमा नाम दर्तादेखि चेकजाँचको रिपोर्ट, औषधिको परामर्शसहित फार्मेसी सेवा, भुक्तानी समेतलाई अनलाइन प्रविधिमा जडान गरेर अस्पतालका अन्य सेवा सञ्चालन गरिएको थियो । लायन्स क्लब, सानो पाइलासहित संस्था सहयोग प्रदान गरेका छन् । बाहिरी घेरामा रहेका बिरामीसँग ‘माइक्रोफोन’मार्फत कुराकानी गरेर चिकित्सकले आवश्यक जाँच था स्वास्थ्य परीक्षण गरिरहेको उनले बताए । 

अस्पतालको सेवा व्यवस्थापनमा मेयर विजय सरावगी, प्रमुख जिल्ला अधिकारी, स्थानीय, सामाजिक अभियान्ता ओमप्रकाश सर्राफसहित विभिन्न गैरसरकारी संस्थाहरू सानो पाइला, मानव सेवा आश्रमसँग निरन्तर अन्तक्र्रिया गरेर उत्पन्न भएका विभिन्न समस्या क्रमशः सुधार गर्दै गएपछि चिकित्सकले दिएको सामूहिक राजीनामा फिर्ता लिएर काममा फर्किएका थिए । ‘नारायणी अस्पताललाई जनरल अस्पतालको रूपमा सञ्चालन गर्नुपर्ने स्थानीयको माग अनुसार प्रमुख जिल्ला अधिकारी र मेयर सा’पको सहयोगमा अन्य निजी अस्पतालमा कोभिडको उपचार गर्ने काम शुरू गरिएको थियो,’ उनले भने, ‘६० शय्याको गण्डक अस्पताल र १२० शय्याको वीरगञ्ज हेल्थ केयरलाई नारायणी अस्पतालले कोभिडको उपचारका लागि लिएको थियो ।’ ती दुवै अस्पतालमा केही संख्यामा भेन्टिलेटर समेत रहेको उनले बताए । विभिन्न विभागका प्रमुखलाई समेत जिम्मेवारी प्रदान गरेर आईसीयू, एनआईसीयू, आकस्मिक, प्रसूतिसहित अन्य सेवा सञ्चालन गरिसकिएको भए पनि केही दिनभित्रै अन्य ओपीडी समेत सञ्चालनमा ल्याइने उनले बताए । 

‘पोर्टेबल भेन्टिलेटर’ भारतको पुणेबाट आउँदै 

नारायणी अस्पताल वीरगञ्जमा कोरोना परीक्षणका लागि २ वटा ‘रियल टाइम पीसीआर मशिन’ सञ्चालनमा छन् । तेस्रो ‘जिन एक्सपर्ट मशिन’ पनि सञ्चालनमा छ । चौथो पीसीआर मशिन पनि केही दिनभित्रै किनेर ल्याउने मेयर विजय सराबगीले आश्वासन दिएका छन् । ठाकुरले भने, ‘भारतको पुणेबाट १० वटा ‘पोर्टेबल भेन्टिलेटर’ समेत छिट्टै किनेर उपलब्ध गराउने आश्वासन मेयर सा’पले दिनुभएको छ ।’ ‘पोर्टेबल भेन्टिलेटर’ सञ्चालन गर्न सहज हुने उनले बताए । 

कोरोना परीक्षणमा ‘सीटी भ्यालु’ सहितको रिपोर्ट 

कोरोना संक्रमण बढ्दै गएपछि कुन व्यक्तिको शरीरमा भाइरसको ‘लोड’बारे जान्न सकिए बिरामी कुन अवस्थामा रहेको भन्ने कुरा बुझ्न सकिने भनेर उनले कोरोनाको रियल टाइम पीसीआर रिपोर्टमा ‘साइकल थ्रेसहोल्ड’ (सीटी) भ्यालु सहितको रिपोर्ट दिलाउन शुरू गरेका छन् । ‘२४ साइकलमा नै भाइरस देखियो भने बिरामीमा भाइरसको लोड बढी छ भन्ने कुरा देखिन्छ भने त्योभन्दा जति बढी साइकलमा देखियो त्यति नै कम भाइरस रहेको बुझिन्छ,’ उनले भने, ‘२४ साइकलमै कोरोना पोजेटिभ देखियो भने त्यो बिरामी कुनै पनि बेला सिकिस्त हुन सक्ने भएकाले त्यस्ता रिपोर्ट आएका बिरामीलाई तत्काल अस्पतालको आइसोलेसनमा राख्न सकिन्छ ।’ 

सिटी भ्यालु सहितको रिपोर्टको आधारमा संक्रमणको जोखिम स्तरलाई पहिचान गर्दै आइसोलेसनमा भर्ना गर्ने तथा सामुदायिक स्तरमा त्यो व्यक्तिबाट फैलिन सक्ने जोखिमलाई समेत कम गर्न रिपोर्ट दिने गरेको उनी बताउँछन् । यद्यपि सिटी भ्यालु सहितको रिपोर्ट दिँदा २ घण्टा बढी समय लाग्ने गरेको छ ।

‘पीसीआर जाँच भएको २ घण्टाभित्र रिपोर्ट दिन सकिने मशिन किन्नुपर्‍यो वा अर्को विकल्प भनेको भारतको केरेलामा प्रयोग गरिएको ‘रियल टाइम (आरटी) ल्याम्प टेस्ट’को कीट भारतबाट कूटनीतिक पहल गरेर ल्याउन सकिने भनेर प्रमुख जिल्ला अधिकारीसहित विभिन्न तहमा सुझाव दिएको छु,’ उनले भने, ‘त्यो किट भारतको केरलामा टाटा कम्पनीले उत्पादन गरेर बिक्री गरिरहेको छ । किट आयो भने परीक्षण गरेको आधा घण्टामा रिपोर्ट आउन सक्छ र संक्रमणको दरलाई नियन्त्रण गर्न सकिन्छ ।’

‘प्लाज्मा थेरापी’ सहितको उपचार

उनी आएपछि कोरोना संक्रमितको उपचारका लागि ‘प्लाज्मा थेरापी’ पद्धतिको उपचार समेत शुरू गरिएको छ । वीरगञ्जको रेडक्रसस्थित ब्लड बैंकमा प्लाज्मा संकलन गरेर प्लाज्मा बैंक नै स्थापना गर्न शुरू गरिएको छ ।

‘अहिले केही बिरामीलाई संक्रमित भएर निको भएका व्यक्तिको शरीरमा बनेको एन्टीबडीलाई प्लाज्माको रूपमा निकालेर संक्रमित बिरामीलाई दिएर उपचार शुरू गरेका छौं,’ उनले भने, ‘५ दिन अघिदेखि शुरू गरिएको विधिले केही बिरामीलाई उपचार शुरू गरिएको छ ।’

गम्भीर भएर भेन्टिलेटरमा रहेका बिरामीलाई मृत्युबाट जोगाउन तथा सामान्य बनाउन ‘प्लाज्मा थेरापी’ उपचार विधि निकै प्रभावशाली रहेको उनी बताउँछन् ।

अस्पतालमा कोरोना संक्रमित बिरामीदेखि अन्य सिकिस्त बिरामीलाई समेत अक्सिजनको आवश्यकता भएका कारण अस्पतालमा नै अक्सिजन प्लान्ट जडान गर्ने काममा समेत लागेका छन् उनी । महावीर पुनले २ वटा भेन्टिलेटर र एउटा रोबोट समेत उपलब्ध गराएका छन् । आइसोलेसनमा संक्रमित बिरामीलाई खाना, खाजा पुर्‍याउन रोबोट निकै उपयोगी भएको उनले बताए । 

केहीदिनमै वीरगञ्जमा अस्पताललाई व्यवस्थित तरिकाले सञ्चालन गरेर परिस्थितिलाई सम्हालेको ठाकुरले आगामी दिनमा झन् नयाँ–नयाँ सुधार गर्दै लैजाने कार्ययोजना समेत बनाएर २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !