८ कार्तिक २०७७, शनिबार
१ जेष्ठ २०७७, बिहीबार १७:०३

कोभिड-१९ र वातावरणीय स्वास्थ्य व्यवस्थापन


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपाल पनि अछुतो छैन । शुरुमा चीनको वुहानबाट नेपाल फर्काइएका मध्ये एक व्यक्तिबाट देखिएको यस संक्रमण दिनप्रतिदिन बढ्ने क्रम जारी छ । कमजोर स्वास्थ्य व्यवस्था भएको हाम्रो जस्तो मुलुकले अझै पनि रोग फैलने क्रमलाई रोक्नुको विकल्प नभए पनि संक्रमितको संख्या बढ्ने क्रमसँगै वातावरणीय स्वास्थ्यमा समेत जोड दिन अति आवश्यक देखिन्छ ।

के हो कोरोना भाइरस ?

कोरोना भाइरस आरएनए भाइरस भएकोले यसलाई वातावरणीय परिवर्तनले सजिलै म्यूटेसन गराउने हुँदा बेलाबेलामा यसका नयाँनयाँ प्रजातिको (मर्स, सार्स कोभ१, सार्स कोभ२) विकास भई यिनीहरूले विभिन्न खालका श्वासप्रश्वाससम्बन्धी रोग लगाउने र मानिसको मृत्युसम्म गराएका छन् । माथी उल्लेखित मानिसको ज्यान लिन सक्ने कोरोना भाइरसको प्रजाति मध्ये अहिले फैलिएको सार्स कोभ२ एक नयाँ प्रजाति हो जसलाई नोवेल कोरोना भाइरस पनि भनिन्छ ।

यसले लगाउने रोगलाई कोभिड–१९ भनिएको छ । जुन जनावरबाट आयातित भए पनि यो मानिसबाट मानिसमा सर्ने गर्छ ।

कोरोना भाइरसः कसरी फैलन्छ ?

जब एक संक्रमित व्यक्तिले हाछ्यू गर्छ वा खोक्छ, यसरी एकपटक हाछ्यू गर्दा कम्तीमा तीन हजार थोपा निस्कन्छ । जसमा रहेका भाइरसहरू संक्रमित व्यक्तिको हात वा श्वास हुँदै घरका ढोकाको हेण्डिल, बिजुलीको स्विच बटन, स्कूल, होटल वा क्याफेका भाँडा, खाट, टेबललगायतमा अवतरण गर्छ । यी वस्तु छोएमा जोसुकैमा पनि जुनसुकै बेला भाइरसको संक्रमण हुनसक्छ ।

यसको संक्रमण दर मौषमी रुघाखोकी भन्दा पनि बढी हुन्छ । मौषमी रुघाखोकी लागेको एकजना विरामीले १.३ देखि १.५ जनामा फैलाउन सक्छ भने कोभिड–१९ ले २.३ जनामा फैलाउन सक्छ । यसरी नै मौषमी रुघाखोकीले भन्दा कोभिड–१९ को कारण ३० गुणा बढी मृत्युदर देखिएको छ । कोभिड–१९ को मुख्य दुई वटा संक्रमणका माध्यम भनेका श्वाप्रश्वास र सम्पर्क हो । जब संक्रमित व्यक्तिले हाछ्यू गर्छ वा खोक्छ त्यसैबखत निस्कने मसिना थोपा कुनै पनि व्यक्तिमा सोझै प्रवेश गर्न सक्छ वा वस्तुको सतहमा पर्दा सोही सतहमा संक्रिय रहन सक्छ । यसरी संक्रमित व्यक्ति वा वस्तुको सम्पर्कमा स्वस्थ व्यक्ति आउँदा रोग सर्ने गर्छ । यसलाई नै सम्पर्कबाट सर्ने माध्यम भनिन्छ ।

कोरोना भाइरस : कहाँ कति समय टिक्छ

विभिन्न वस्तुका सतहहरूमा कोरोना भाइरसका जिवाणुहरू केही मिनेटदेखि धेरै दिनसम्म बाँच्ने सम्भावना हुन्छ । जसको विवरण निम्न तालिकामा उल्लेख छ ।

कहाँ     कति समय     सुरक्षाका उपाय
हाछ्यु गर्दा निस्कने थोपामा     ३ घण्टा  मुख छोप्ने
झ्याल ढोका थुनिएको अवस्थामा लामो समय    खुल्ला राख्ने
तामाको सतहमा ४ घण्टा रसायनले पुछ्ने
 प्लाष्टिक तथा स्टिलको सतहमा २ देखि ३ दिन सामान किन्दा आफ्नै झोला प्रयोग गर्ने र रसायनले पुछ्ने
कार्डबोर्ड सतहमा २४ घण्टा रसायनले पुछ्ने
काठजन्य सामानमा ४ देखि ९ घण्टा रसायनले पुछ्ने
मोबाइल फोन स्क्रिन ९६ घण्टा रसायनले पुछ्नेर एयरफोन प्रयोग गर्ने
प्लाष्टर गरेको भित्ता ३६ घण्टा रसायन छर्कने र छोएपछि हात धुने
सिसाको सतह ९६ घण्टा    रसायनले पुछ्ने
हावामा भएको पानीको शुक्ष्म थोपा (५ माइक्रोमिटर भन्दा सानो) आधा घण्टा घरभित्र बस्ने र दुरी कायम गर्ने
हावामा भएको पानीको शुक्ष्म थोपा ६ फिट उचाईबाट जमिन सतहमा आइपुग्न ३४ मिनेट  क्लोरिनले किटाणुशोधन गर्ने
खानेपानी तथा फोहोरपानीमा         २ दिन

नोट : रसायन भन्नाले ७० प्रतिशत अल्कोहल रहेको स्यानिटाइजर वा ०.५ प्रतिशत क्लोरिन झोल ।

हाल फैलिइरहेकोे कोभिड–१९ रोग नियन्त्रणमा देहायका उपाय अपरिहार्य देखिन्छन् ।

१) मुहान (श्रोत) नियन्त्रण

२) फैलावट नियन्त्रण

३) निदान तथा उपचार

कोरोना नियन्त्रणका चरणहरू

उल्लेखित तीन चरणको व्यवस्थापनमा वातावरणीय स्वास्थ्य व्यवस्थापनको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । यसरी वातावरणीय स्वास्थ्य व्यवस्थापनका दृष्टिले हेर्दा निम्न उल्लेखित उपायहरूमा ध्यान दिन अति जरुरी देखिन्छ ।

१.    हातको सफाइसः

कुनै पनि वस्तु छुँदा कोरोना भाइरसलगायत अन्य संक्रमण हुन सक्ने जीवाणु हाम्रो हातमा प्रवेश गरेसँगै मानवलाई यसको संक्रमणको जोखिम बढ्दै जान्छ । यसो हुँदा वैज्ञानिक तरिकाले हात सफा गर्नु अति आवश्यक छ । तर हाल हामीले व्यवहारमा चल्दै आएको हात धुँने तरीका भने वैज्ञानिक नभएकोले संक्रमणको खतरा रहन्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले सुझाएको हात धुँने तरिकालाई हरेकले अभ्यासमा ल्याउनु अति आवश्यक छ । विश्व स्वास्थ्य संगठनका अनुसार तपसिल बमोजिमको अवस्था हेरि हात धुँदा २० सेकेण्डदेखि ६० सेकेण्ड समयसम्म हत्केलाको अगाडि पछाडी तथा औलाहरूको कापामा मिचेर धुन सुझाएको छ ।

♦    मैला नभएको हात (२० देखि ३० सेकेण्डसम्म ७० प्रतिशत अल्कोहल (इथायल अल्कोहल) भएको ह्याण्ड स्यानिटाइजर लगाएर मिच्ने ।

♦  धुँलो, मैलो भएको हात (४० देखि ६० सेकेण्डसम्म साबुन पानीले मिच्ने) वैज्ञानिक हात धुने तरिका यसप्रकारको प्रभावकारी हात धुने तरिका देशका दुरदराजमा अवस्थित नेपालीमा पुग्न नसकेको हालको अवस्थालाई मध्येनजर गरि नेपाल सरकारले देशमा हजारौंको संख्या (५२ हजारभन्दा बढी) मा महिला स्वास्थ्य स्वयमसेविकालाई तालिमसहित कोभिड–१९ नियन्त्रणको एक माध्यमका रुपमा समुदायमा परिचालन गर्न अपरिहार्य देखिएको छ ।

२.   श्वासप्रश्वासको सरसफाई श्वासप्रश्वासको सरसफाई भन्नाले शिष्टाचारयुक्त श्वासप्रश्वास भन्ने बुझिन्छ । जस्तैः

क) हाछ्यू गर्दा वा खोक्दाः     टिस्यू पेपर वा कुँइनाले मुख ढाक्ने ।     आफ्नो टाउकोलाई अन्य व्यक्ति भन्दा कम्तीमा एक मिटरको दुरी राख्ने वा टाउको मोडेर टाढा लैजाने ।

ख) प्रयोग गरेको टिस्यू पेपरलाई तत्कालै ढकनी भएको रद्दि टोकरीमा फ्याक्ने ।

ग) तत्काल वैज्ञानिक तरिकाले हात धुने ।

घ) माक्सको प्रयोग गर्ने ।

३.     जीवाणुमुक्त वातावरण बनाउने सरसफाइ :

यो जीवाणुमुक्त वातावरण सृजना गर्ने पहिलो उपाय हो । जसले बाह्रय भौतिक वस्तुहरु जस्तै धूलो, माटो र जैविक वस्तुहरु जस्तै रगत, सिंगान, खकार, ¥याल, आदिबाट कुनै पनि सतह (ढोका, झ्याल, टेवल, सरसामान) मा यी वस्तुहरूसँगै रहेका जीवाणु हटाएर मुक्त गराउँछ ।  किटाणुशोधन (डिसइन्फेसन) : सक्रिय र जीवित जिवाणुको संख्यालाई घटाइ कम हानी गर्ने स्तरमा पुर्याउँछ । जसको लागि ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइड, क्वाटनरी एमोनियाका यौगिक जस्ता बजारमा उपलब्ध प्रमाणीत रसायनहरूको प्रयोग गरिन्छ । निर्मलीकरण : सबै खालका शूक्ष्म जीवाणुलाई निस्तेज पार्ने प्रक्रिया निर्मलीकरण हो । जस्तै : अटोक्लेभिङ्ग, इन्सिनेरेसन (भष्मिकरण) आदि पर्छन् ।

४.     संक्रमणजन्य वस्तुको उचित सरसफाइ

क) लत्ताकपडाको सरसफाइ : संक्रमितले प्रयोग गरेका कपडालाई तातोपानी (६० देखि ९० डिग्री तापक्रम) र सर्फले मेशिनमा धुने । तत्पश्चात, ०.०५ प्रतिशत क्लोरिन पानीमा आधा घण्टा डुवाउने र घाममा सुकाउने । यदि कपडा धुने मेशिन उपलब्ध नभएमा कपडालाई एक ड्रममा तातो साबुनपानीमा डुबाउने र लठ्ठीको सहायताले छिटा नउछिटिने गरि चलाउने । ०.०५ प्रतिशत क्लोरिन पानीमा आधा घण्टा डुवाउने र घाममा सुकाउने । यसरी सफा गरिएका कपडाहरु बन्द झोलामा वा बिर्को भएको सफा भाँडोमा राखी ओसार्ने र बाह्रय व्यक्तिको पहुँच भन्दा टाढा स्टोर गर्ने ।

ख) हातमा लगाउने पन्जा, गाउनको व्यवस्थापन : पन्जा तथा गाउनलाई साबुनपानीले सफा गरि, ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइडमा पानीमा आधा घण्टा डुवाउने र घाममा सुकाउने । एकपटक मात्र प्रयोग हुने पन्जा तथा गाउनलाई बिर्को भएको भाँडोमा फ्याँक्ने ।

ग) पोखिएका संक्रमित तरल पदार्थ : बिरामीबाट निस्किएका तरल पदार्थहरू परेको सतहलाई किटाणुशोधनका लागि ०.५ प्रतिशत क्लोरिन झोललाई खन्याई १० मिनेटसम्म रहन दिई त्यसपछि सफा पानीले पखाल्नु पर्छ ।

५.    वातावरणीय सरसफाइ

क) संक्रामिक वस्तुहरू (फोहरको) व्यवस्थापन : एकान्तबास क्षेत्रका सबै वस्तुहरूमा उतिकै संmक्रमण हुने संभावना भएकाले यस्ता वस्तुलाई संक्रमित फोहर बिसर्जन कै तरिकाबाट बिसर्जन गर्नुपर्छ । संक्रमित वस्तु बिसर्जन गर्ने व्यक्तिले व्यक्तिगत सुरक्षा कवज अनिवार्य प्रयोग गर्नुपर्छ । संक्रमित फोहरलाई ओसारपसार गर्दा वरपरको वातावरणमा छिटा परि संक्रमित हुनबाट जोगाउन कम चलायमान हुने गरि गर्नुपर्छ । संक्रमित वस्तुहरूलाई बिरामीको छेउमा राख्नुपर्दा नचुहिने झोला या बिर्को भएको भाडोमा राख्ने व्यवस्था मिलाउनु पर्छ । यसरी विसर्जन गर्दा संक्रमित फोहर वस्तुहरुको लागि निम्न बमोजिमका विधि प्रयोग गरि निर्मलीकरण गर्न सकिन्छ ।

►    १० प्रतिशतको चूनाको घोल बनाई १० भाग फोहोरमा एक भाग घोल मिसाइ हानीकार कत्व निर्मूल गर्न सकिन्छ ।

►    अटोक्लेभिङ्ग विधि : यो अटोक्लेभ उपकरणको प्रयोग गरेर गरिन्छ । जहाँ १२१ डिग्रीसेल्सीयस र १५ पाउण्ड प्रेसरमा २० मिनेटसम्म राखि निर्मलीकरण गरिन्छ ।

►    भष्मीकरण विधि : यो विधिबाट प्लाष्टिकजन्य वस्तु र क्लोरिन राखिएका वस्तु भने जलाउनु हुँदैन । यो विधि ठूला अस्पतालमा इन्सिनेरेटरमा गर्न सकिन्छ । स–साना स्वास्थ्य उपचार केन्द्रमा ड्रम या इट्टाको च्याम्बरमा जलाएर गर्न सकिन्छ । श्रोत साधनको अभाव भएको अवस्थामा खाडल खनेर जलाउने र जलाएको ठाउँलाई माटोले पुर्ने पनि गर्न सकिन्छ ।

ख) हावाको माध्यमबाट हुने संक्रमणको सावधानीका उपाय : एक व्यक्ति एक कोठा, पर्याप्त भेन्टिलेसन भएको कोठा जहाँ प्राकृतिक हावा १६० लि. प्रति सेकेण्ड प्रति व्यक्तिका दरले आवतजावत भएको हुनुपर्ने । यदि यन्त्रिक भेन्टिलेसनको प्रयोग गरिएमा कम्तीमा पनि प्रतिघण्टा १२ पटकसम्म कोठाबाट हावा विस्थापन हुने व्यवस्था गरिएको हुनुपर्छ ।

ग) खानेपानीको व्यवस्थापन : हालै गरिएको एक अध्ययनअनुसार कोरोना भाइरस क्लोरिन नमिसाएको धाराको पानीमा र अस्पतालबाट निस्कने फोहर पानीमा २० डिग्री सेल्सियस तापक्रममा दुई दिनसम्म बाँच्छ । त्यसैले खानेपानी तथा फोहर पानीलाई मापडण्डअनुसारको क्लोरिन राखि किटाणुसोधन गर्नु पर्छ । जैविक प्रदुषणमुक्त खानेपानीको सुनिश्चितताको लागि क्लोरिन अवशेष (एफआरसि) अन्तिम धारासम्म ०.२ देखि ०.५ मिलीग्राम प्रतिलिटर कायम राख्नुपर्छ ।

घ) फोहरपानी तथा शौचालयको व्यवस्थापन : क्वारेन्टाइन, एकान्तबास तथा उपचार केन्द्रबाट निस्कने फोहरपानीलाई सेफ्टी ट्यांकमा बिसर्जन गर्ने गर्नुपर्छ । शौचालयमा पानीको फोहोर–फ्लसिङ्ग गर्दा छिटाहरु फैलन नदिन ढक्कन लगाएर मात्र सफा गर्नु पर्छ । सार्स कोभ२ को बिरामीको दिशाबाट रोग सर्ने सम्भावना अत्यन्त न्यून रहन्छ । आजसम्म दिशाको सम्पर्कमा आएर मुखबाट निल्दा–दिशा मुखको माध्ययमबाट सर्ने भन्ने प्रमाणित भएको छैन । तर हालैको एक अध्ययनका अनुसार अस्पतालबाट निस्कने फोहर पानीमा २० डिग्री सेल्सीयस तापक्रममा यो भाइरस दुई दिनसम्म बाँच्ने जनाएको छ । यदि सक्रमित व्यक्तिको लागि अलग्गै शौचालय उपलब्ध नभएको अवस्थामा दिनको कम्तीमा दुई पटक शौचालय सफा गरि ०.५ प्रतिशत क्लोरिन झोलले किटाणुशोधन गर्ने । यसरी सरसफाइमा संलग्न व्यक्तिले व्यक्तिगत सुरक्षा कवच भने अनिवार्य लगाउनु पर्दछ ।  प्रयाप्त श्रोत, साधन र सुविधा र ठाँउ नभएका स साना स्वास्थ्य उपचार केन्द्रहरुमा दिशा पिशावबाट वरपरको वातावरणलाई संक्रमित हुनबाट बचाउन खाल्टे चर्पीको प्रयोगलाई महत्व दिनु पर्छ । यस्तो चर्पी भूमिगत पानीको सतहबाट कम्तीमा १.५ मि. माथी रहेको हुनुपर्छ । साथै भूमिगत पानीको श्रोतबाट कम्तीमा ३० मि. को दुरीमा निर्माण गर्नु पर्दछ ।

ङ) हानीकारक रसायन तथा औषधिजन्य वस्तुको व्यवस्थापन : हानीकारक रसायन तथा औषधिजन्य वस्तुहरूलाई छुट्टै संकलन गरि अम्लीय तथा क्षारीय तटस्थता विधि अपनाउनु पर्छ । बनेको थेग्रोलाई अटोक्लेभिङ्ग विधिबाट निर्मलीकरण गर्नुपर्छ ।  अन्त्यमा, उल्लेखित वातावरणीय स्वास्थ्य व्यवस्थापनका सावधानी अपनाउन सकेको खण्डमा कोभिड–१९ संक्रमण चक्रलाई टुटाउन सकिन्छ । जसले गर्दा यस घातक रोग फैलावटमा कमी भई यसको नियन्त्रणमा टेवा पुग्न सक्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !