काठमाडौँ : नेपालमा सबैभन्दा धेरै मृत्युको मुख्य कारण नसर्ने रोग हुने गरेको पाइएको छ। नेपाल ‘बर्डेन अफ डिजिज’ को पछिल्लो तथ्यांकअनुसार वार्षिक १ लाख ९३ हजार ३३१ जना नेपालीको मृत्यु हुन्छ। तीमध्ये सबैभन्दा धेरै मृत्यु वार्षिक एक लाख ३७ हजार ५५३ ( कुल ७१ प्रतिशत) जनाको मृत्यु मुटु मिर्गौला क्यान्सर दीर्घ प्रकारका श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्या सीओपीडी, दम जस्ता जटिलताले हुने गरेको छ।
नसर्ने रोगमा सबैभन्दा धेरै मृत्यु मुटु र मुटु सम्बन्धी रक्तनली सम्बन्धी स्वास्थ्य समस्याबाट हुने गरेको छ। मुटु र मुटु सम्बन्धी रक्तनली समस्याबाट वार्षिक ४६ हजार ३९९ नेपालीले जीवन गुमाउँछन्। यस्तै क्यान्सर रोगले वार्षिक २१ हजार ६५३ नेपालीले जीवन गुमाउँछन्। सीओपीडी, दम जस्ता दीर्घ प्रकारका श्वासप्रश्वास सम्बन्धी रोगले ४० हजार, ७९२ नेपालीको जीवन समाप्त हुन्छ।
मधुमेह र मिर्गौला रोगका कारण ८ हजार ५०३ जना नेपालीको वार्षिक रूपमा जीवन समाप्त हुन्छ। आन्द्रा सम्बन्धी स्वास्थ्य समस्याबाट वार्षिक ६ हजार ९५९ जना नेपालीको मृत्यु हुन्छ। यस्तै पछिल्ला वर्षमा नेपालीको मृत्यु हुने कारणमा मानसिक स्वास्थ्य समस्या पनि प्रमुख जस्तै रहेको छ। वार्षिक ४ हजार ४४६ जना नेपालीले मानसिक सम्बन्धी स्वास्थ्य समस्याबाटै ज्यान गुमाउने गरेका छन्। यस्तै खाना सम्बन्धी (पाचन प्रणाली) सम्बन्धी रोगले ११ हजार ४०६ नेपालीले वार्षिक रूपमा जीवन गुमाउँछन्।
जीवनशैलीका साथै खानपानलाई विशेष सावधानी अपनाउन सकिए मधुमेह लाग्न र त्यसबाट हुने जटिलताबाट बच्न सकिने हुँदा सचेत रहनुपर्ने मधुमेह रोग विशेषज्ञ डा. सन्तोष शाक्यको भनाइ छ। ‘मधुमेहले मिर्गौला, मुटु, दृष्टि लगायतका अन्य स्वास्थ्य जटिलता निम्त्याउँछन्‚ त्यसैले नसर्ने रोगबाट बच्न मधुमेह हुनबाट बच्च सकियो भने धेरै सहज हुन्छ। यसका लागि स्वस्थ जीवनशैली आवश्यक पर्छ, मोटोपन हुन नदिने खानपानलाई ध्यान दिन सकियो भने नसर्ने रोगबाट बच्न सकिन्छ’‚ डा. शाक्यको भनाइ छ।
२१ प्रतिशत नेपालीको मृत्यु मातृ, नवजात शिशु र पोषण रोगका कारण
अझै पनि नेपालमा मातृमृत्यु, नवजात शिशु स्वास्थ्य र पोषण सम्बन्धी स्वास्थ्य समस्या पनि मृत्युको कारण बन्ने गरेका छन्। अझै पनि ४० हजार ६९१ जना ( २१ प्रतिशत) नेपालीको मृत्यु मातृ स्वास्थ्य, नवजात शिशुको स्वास्थ्य र विभिन्न प्रकारका पोषणको कमीका कारण हुने जटिलताबाट जीवन गुमाउने गरेका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले अझै पनि नेपालमा मातृ स्वास्थ्यको क्षेत्रमा अझै काम गर्नुपर्ने र आफ्नो कार्यकालमा प्राथमिकतामा राख्ने बताइसकेकी छन्। ‘अझै पनि मधेश‚ कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मातृमृत्यु पनि उच्च छ। त्यसैले यस प्रदेशमा मातृमृत्यु तथा बाल स्वास्थ्यको क्षेत्रमा काम गर्न सोही अनुसारको कार्यक्रम संघ प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर म लैजाने प्रयास गर्नेछु’‚ स्वास्थ्यमन्त्री शर्माले भनेकी छन्।
यस्तै अप्रत्यासित सडक दुर्घटना चोटपटक जस्ता इन्जुरीले पनि वार्षिक ८ प्रतिशत अर्थात् १५ हजार ८७ नेपालीले जीवन गुमाउँछन्।