14.4c Kathmandu, Nepal

Monday, November 10, 2025
२ हप्ता अगाडि

मंसिरदेखि स्वास्थ्य मन्त्रालय सिंहदरबारमा सर्ने पक्का

काठमाडौँ, १२ कात्तिक । मंसिर महिनादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार भित्र सर्ने भएको छ ।

सर्वोच्च अदालत पछाडीपट्टी रहेको नेपाली सेनाको नर्सिङ दल गणको नाममा भएको खाली जग्गामा फ्रिफ्याव भवन निर्माण भइरहेको छ । 

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाली सेनाको नर्सिङ दल गणको नाममा भएको खाली जग्गामा फ्रिफ्याव भवन निर्माण भइरहेको जानकारी दिनुभयो ।

उहाँले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोमा छ वटा  फ्रिफ्याव भवन निर्माण भइरहेको जानकारी दिदै ढिलोमा मंसिर १ गतेदेखी सर्ने तयारी रहेको बताउनुभयो । 

सेनाको सो गण प्रधानमन्त्री कार्यालय नजिक सरे पछि खाली रहेको त्यस क्षेत्रको जग्गा र भवनहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि छुट्याइएको हो ।

केही कोठाहरु नर्सिङ दल गणको पुराना कोठाहरु पनि प्रयोग हुने उहाँको भनाई छ । 
जेनजी आन्दोलनले विध्वंशात्मक रुप लिएको दिन २४ भदौमा रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुल भवन आगलागीमा परेपछि अहिले पछाडीपट्टी रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा शरण लिएर बसेको छ ।


प्रवक्ता डा. बुढाथोकीले कात्तिक महिना भर रामशाहपथबाट मन्त्रालयको सेवा चले पनि मंसिर १  गतेदेखि सिंहदरबारबाट सेवा  दिने गरी तयारी भएको जानकारी दिनुभयो ।