बालबालिकाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेशका बागलुङसहित तीन जिल्लामा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालनमा ल्याइएको छ।
चालु आर्थिक वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागअन्तर्गतको कार्यक्रमका रूपमा गण्डकी प्रदेशका बागलुङ, कास्की र तनहुँमा यो अभियान सुरु गरिएको हो। देशभरका २३ जिल्लामा सञ्चालन भइरहेको यस कार्यक्रमको शुभारम्भ गण्डकी प्रदेशका ती तीन जिल्लामा भएको धौलागिरी आयुर्वेद अस्पताल बागलुङका प्रमुख डा. शरद पन्थीले जानकारी दिए।
डा. पन्थीका अनुसार केन्द्र तथा प्रदेश सरकारद्वारा बालबालिकाका लागि सुरु गरिएको यो आयुर्वेदिक खोप पद्धति बुधबारदेखि बागलुङमा पनि सुरु गरिएको हो।
अभियानअन्तर्गत पहिलो चरणमा १ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई यो थोपा खुवाउन थालिएको छ। बिहान ७ बजेदेखि १० बजेसम्म खाली पेटमा स्वर्णविन्दु प्राशन गराइएको डा. पन्थीले बताए। तोकिएको उमेर समूहका बालबालिकालाई अभियानमा सहभागी गराउन अभिभावकलाई आग्रह गरिएको छ।
पुष्य नक्षत्रका दिनमा स्वर्णविन्दु प्राशन गराइने
बालबालिकालाई पुष्य नक्षत्रका दिनबाट स्वर्णविन्दु प्राशन सुरु गरी हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाउनुपर्ने डा. पन्थीले जानकारी दिए।
“स्वर्णविन्दु प्राशन आयुर्वेद ग्रन्थहरूमा बालबालिकाको वृद्धि र विकासका लागि खुवाइने खोप पद्धति हो। यसले विशेषगरी बच्चाको पाचन प्रणाली, रोग प्रतिरोधात्मक शक्ति र मानसिक स्वास्थ्यलाई मजबुत बनाउँछ,” डा. पन्थीले भने, “बागलुङमा पनि यस अभियानको शुभारम्भ गरेका छौँ। प्रत्येक २८ दिनमा यो अभियान सञ्चालन हुनेछ र बालबालिकालाई पाँच वर्षसम्म निरन्तर खुवाउनुपर्ने छ।”
डा. पन्थीका अनुसार स्वर्णविन्दु प्राशन करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको परम्परागत विधि हो। यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको वैज्ञानिक आधार पनि रहेको उनले बताए।
“स्वर्णविन्दु प्राशन घ्यू, मह (महिलो मह) र सुनको भस्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो। यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भस्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न सहयोग गर्छ,” डा. पन्थीले बताए। “आयुर्वेदको मूल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भस्मलाई घ्यू र महमा मिसाएर बनेको लेहलाई थोपाको रूपमा सेवन गराइने विधि नै ‘स्वर्णविन्दु प्राशन’ हो।”
उनका अनुसार यो कुनै अन्धविश्वासमा आधारित परम्परा नभई हजारौँ वर्षको अनुभव र अनुसन्धानमा आधारित वैज्ञानिक विधि हो, जसले बालबालिकालाई खुवाउने दृष्टिले निकै लाभदायी मानिन्छ।
राजपरिवारमा पुरानै अभ्यास
डा. पन्थीका अनुसार नेपालको आयुर्वेदिक चिकित्सा पद्धतिमा यो खोप राजपरिवारमा पहिलेदेखि नै अभ्यासमा रहेको छ। तर ६ महिनाभन्दा मुनिका शिशुलाई आमाको दूधबाहेक केही पनि खुवाउन नहुने भएकाले उनीहरूको हकमा स्वर्णप्राशन कार्यक्रम लागू हुने छैन।
बालबालिकालाई स्वर्णविन्दु प्राशन खाने दिन ज्वरो, रुघाखोकी, आउँ, झाडापखाला, अरुची, पिनास, निमोनिया, खाना पचाउन समस्या लगायतका लक्षण देखिएमा वा बिरामी परेमा अर्को महिनाको पुष्य नक्षत्रका दिन खुवाउन सकिने डा. पन्थीले बताए।
बागलुङमा पहिलो दिन ४६३ बालबालिकालाई प्राशन
बागलुङमा पहिलो दिन ४६३ जना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको डा. पन्थीले जानकारी दिए। यसपटक छुटेका बालबालिकालाई आगामी कात्तिक २५ गते पुनः खुवाइनेछ।
यो अभियान बागलुङमा धौलागिरी आयुर्वेद अस्पतालबाट मात्र सञ्चालन भएको हो। सोही अस्पतालमा यो उत्पादन पनि गरिने भएको छ।
केवल परम्परागत अभ्यास मात्र नभई वैज्ञानिक दृष्टिले अर्थपूर्ण संयोजन भएकाले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभर स्वस्थ बालबालिका निर्माणमा यो कार्यक्रमले सहयोग पुर्याउने विश्वास गरिएको छ।