
घोराहीका गाउँ–गाउँमा बनेका कृत्रिम जलाशयले सिँचाइ, पर्यटन र रोजगारी बढेसँगै सुख्खा गाउँहरू हराभरा बनेका छन् । तिनका कारण सामाजिक–आर्थिक रूपान्तरण तीव्र भएको छ ।
पहिले आकाशे पानीको भरमा एक बाली मात्र हुने बाहुनटारी क्षेत्रमा अहिले तीन बाली खेती सम्भव भएको छ । यसको मुख्य कारण हो— घोराही उपमहानगरपालिकाले निर्माण गरेको कृत्रिम जलाशय— चेपे दह । चेपे दहले बाहुनटारी मात्र होइन; सुर्केडाँगी, बुका, राइटारी र पन्तटोलका किसानको जीवनमा पनि परिवर्तन ल्याएको छ । त्यसमाथि चेपे दह अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटकका कारण होटल, किराना पसल र साना व्यवसायसमेत फस्टाएका छन् । दाङमा शुरु गरिएको यो मोडल अवलोकन गर्न देशका स्थानीय तहका प्रतिनिधिहरू आइरहेका छन् । जलाशय घुम्न आउने पर्यटकहरूको संख्या बढेसँगै स्थानीय व्यापार बढेको छ, होटल र रेस्टुरेन्ट चलेका छन् । पोखरीमा माछापालन र बोटिङजस्ता कामबाट स्थानीय बासिन्दाको आम्दानी बढेको छ ।

करीब १५ वर्ष भारतमा मजदुरी गरी शिव महरा घर फर्किदा घोराही उपमहानगरपालिका–१, बाहुनटारीस्थित उनको घरनजिकै ठूलो ताल बनेको देखपछि उनले १५ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती शुरु गरे । “यो सिजनमा बन्दागोभी मात्र ८ लाख रुपैयाँ बराबरको बेचें,” उनी भन्छन्, “तरिका पुऱ्याएर खेती गर्दा १५ कट्ठा जमिनबाट वार्षिक १८ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिंदोरहेछ ।” महराले बन्दागोभी, काउली, बेमौसमी काँक्रो र खुर्सानी खेती गर्छन् । १५ कट्ठा जग्गाको भाडाबापत वार्षिक ३६ हजार रुपैयाँ बुझाए पुग्छ ।
जलाशयले गाउँमा फेरि पशुपालन बढेको छ । समग्र कृषि प्रणालीमा सुधार ल्याउन र किसानको दैनिकी सहज बनाउन जलाशयको भूमिका बढ्दो छ । घोराही उपमहानगरपालिका–१ का वडाध्यक्ष एवं उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेय भन्छन्, “यो जलाशय निर्माणपछि ५/६ गाउँका किसानले तरकारी खेतीबाट मनग्गे आम्दानी गरिरहेका छन् । अरू व्यवसाय पनि फस्टाएको छ ।”
-1773143897.jpeg)
९० बिघामा ४४ जलाशय
घोराही उपमहानगरपालिकाले २०७४ सालदेखि कृत्रिम जलाशय बनाउन थालेको थियो । सिम भएको जमिनमा ठूलो पोखरी बनाएर, साना खोल्सी थुनेर अहिलेसम्म ४४ वटा जलाशय निर्माण भइसकेका छन् । यी जलाशयमा २० करोड २१ लाख रुपैयाँ खर्च लागेको उपमहानगरले जनाएको छ । घोराहीका १९ मध्ये १४ वटा वडामा कृत्रिम जलाशय निर्माण गरिएको उपमहानगरपालिकाका शहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखाका सब–इन्जिनियर मधुसूदन खतिवडाले जानकारी दिए । उनका अनुसार जलाशयले कुल ९० बिघा क्षेत्र ओगटेको छ । यी जलाशय निर्माणमा संघीय र प्रदेश सरकारले पनि सहयोग गरेका छन् ।
-1773143896.jpeg)
जलाशयबाट ९३५.६१ हेक्टर जमिनमा सिँचाइ भइरहेको र १५०० हेक्टर पुऱ्याउने लक्ष्य रहेको उपमहानगरपालिकाका शहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखाका सब–इन्जिनियर खतिवडाले जानकारी दिए । उपमहानगरका प्रवक्ता पाण्डेयले यी जलाशयबाट करिब ५० हजार घरधुरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएको अनुमान सुनाए ।
घोराही–१७ कर्जाहीमा बनाइएको कर्जाही जलाशयका कारण बाह्रै महिना सिँचाइको सुविधा पुगेको छ । यसबाट लाभ लिनेमध्येका एक हुन्, बाबुराम चौधरी । “पहिला डेढ कट्ठामा तरकारी खेती गर्र्थें, पानीको सुविधा भएपछि १५ कट्ठामा गर्दै आएको छु”, चौधरी भन्छन् । तरकारी खेतीबाट भएको आम्दानीबाट उनले थप १० कट्ठा जमिन किनेका छन् ।
-1773143895.jpeg)
“जलाशय निर्माणका लागि पालिकामा प्रस्ताव पेश गर्नेदेखि निर्माण गर्नेसम्म हामी गाउँलेहरू नै सक्रिय थियौं,” उनले भने, “पालिकाले जलाशय निर्माण गरिदिएपछि अहिले हाम्रो सिंगो गाउँ यही जलाशयबाट सिँचाइ गरी बाह्रैमास खेतीमा व्यस्त हुन्छ ।” ७७ बिघा क्षेत्रफल सिँचाइ गर्ने लक्ष्यसहित जलाशय निर्माण गरिएको उनले जानकारी दिए । “जलाशय बनेपछि पानीको अभाव हटेको मात्र छैन, किसानहरूको जीवनस्तर नै माथि उठेको छ”, बाबुरामले भने ।

पोहोर जेठ महिनाको पहिलो साता घोराही–१६ मघैका निर्मल चौधरीले धानको ब्याड राखे । तर, रोपाइँ गर्ने बेला पानी परेन । “पहिले असारमा रोपाइँ सकिन्थ्यो, गएको वर्ष साउनको पहिलो सातासम्म पानी नपरेपछि जलाशयबाट पम्पसेटले पानी तानेर रोपाइँ शुरु गऱ्यौं”, उनले भने । अहिले त्यही जलाशयको पानीबाट मघैका किसानको ५० बिघाभन्दा बढी जमिनमा सिँचाइ भएको छ । “जलाशयले सिँचाइ सँगै पशुपालनका लागि पनि आधार भएको छ”, निर्मल भन्छन् ।
घोराही–१७, गुलरियाका दीपक चौधरीका अनुसार, यस क्षेत्रको ३० बिघा जमिनमा जलाशयको पानीबाट सिँचाइ पुग्छ । ८ वर्षअघि घोराही उपमहानगरपालिकाले करिब दुई बिघा क्षेत्रफलमा उक्त जलाशय बनाएको हो ।

स्वदेशमै उद्यम
घोराहीमा निर्माण भएका यी जलाशयहरूले किसानको जीवनशैलीमा परिवर्तन ल्याएका, खेती प्रणाली सुधारेका र ग्रामीण विकासको नयाँ आधार तयार पारेका हुन् । पहिले बर्खे पानीमा निर्भर यहाँका गाउँहरू अब वर्षभरि नै हराभरा देखिन्छन् । किसानले धान, गहुँ, मकैजस्ता परम्परागत बालीबाहेक तरकारी, फलफूलजस्ता नगदेबाली लगाइरहेका छन् ।

जलाशयको सबैभन्दा ठूलो फाइदा भनेको जमिनमा पानीको प्राकृतिक पुनर्भरण (रिचार्ज) भइरहेको छ । यसको प्रत्यक्ष प्रभाव कुवा (इनार) र डिप बोरिङहरूमा देखिन्छ । जलाशयवरपरका क्षेत्रमा पानी जमिनभित्रै सञ्चित हुँदै जाँदा माटोको उर्वराशक्ति पनि बढेको छ । घोराही–१७ स्थित ढिकपुर जलाशय निर्माण भएपछि सुख्खा याममा खेतमा गाडिएका बोरिङहरूबाट पानी नआउने समस्या हटेको स्थानीय बासिन्दा जगवीर चौधरी बताउँछन् । “पहिले माघ–फागुन शुरु हुनासाथ कुवा र इनार सुक्थे,” घोराही–१७, कर्जाहीकी तारा चौधरी भन्छिन्, “अहिले जेठ महिनासम्म पनि सुक्दैनन् ।”

खेतीबाट राम्रो उत्पादन हुन थालेपछि युवा विदेश जाने क्रम रोकिएकोे छ । स्थानीय अर्थतन्त्र चलायमान भएको छ । घोराही उपमहानगरपालिका–६ चोर गाउँका डुब्लु चौधरी वैदेशिक रोजगारीमा थिए । अहिले उनी फर्केपछि गाउँमै खेती गरेर बसेका छन् । “गाउँमै राम्रो आम्दानी हुन थालेपछि विदेश जाने सोच त्यागें”, उनी भन्छन् ।
लख्वार गाउँका नीमबहादुर चौधरी पनि गाउँको सिरानमा लख्वार जलाशय बनेपछि खेतीपाती सजिलो भएको बताउँछन् । करिब पाँच वर्ष विदेश बसेर फर्केका नीमबहादुर छोराछोरीलाई पढाउन र घरखर्च चलाउन तरकारी खेतीको आम्दानीले धानेको बताउँछन् ।
-1773143894.jpeg)
नागरिक अगुवा एवं थारू कल्याणकारिणी सभा, दाङका पूर्वअध्यक्ष भुवन चौधरी थारू समुदायको बाहुल्य रहेको यस ठाउँमा कृत्रिम पोखरीहरूले जीवनशैली नै परिवर्तन गरिदिएको बताउँछन् । “पहिले थारू समुदायबाट कोही पनि बजारमा अनाज, तरकारी बेच्न गएको देखिंदैनथ्यो,” उनी भन्छन्, “अहिले सधैं बिहान घोराही बजारमा थारू महिलाहरू छिट्वा, गैंजामा तरकारी राखेर बेचिरहेका हुन्छन् । यसबाट उनीहरूको आम्दानी बढेको छ, समाजमा घुलमिल हुने अवसर पाएका छन् ।”
यी जलाशयहरू आर्थिक रूपान्तरण, कृषि र उद्यमशीलताको नयाँ आधार भएको अर्थतन्त्रसम्बन्धी जानकार सुरेश गौतम बताउँछन् । “पहिले जस्तो हिउँदमा जमिन बाँझो रहँदैन । गहुँ, तोरी र वसन्त ऋतुमा मकै वा तरकारी खेती गरेर किसानले राम्रो आम्दानी बढाएका छन् ।”

उपमहानगरपालिकाले धेरैजसो जलाशय स्थानीय समुदायलाई माछापालनका लागि भाडामा दिएको छ । एउटा औसत आकारको जलाशयबाट वार्षिक ५ देखि १० लाख रुपैयाँसम्मको माछा बिक्री हुने गरेको गौतम बताउँछन् । उनी भन्छन्, “उत्पादकत्व बढेकाले स्थानीय बासिन्दाको आर्थिक हैसियत र बैंकसँगको पहुँच बलियो भएको छ ।” जलाशयकै कारण घोराही इको–टुरिजम्को हब बन्दै गरेको उनले सुनाए ।
घोराही उपमहानगरपालिकाका ग्रामीण क्षेत्रमा सुख्खाको समस्या हुन थालेपछि शुरुमा चिस्यान भएका क्षेत्रमा ठूलो कृत्रिम जलाशय बनाउने योजना बनाइएको नगरप्रमुख नरुलाल चौधरीले बताए । शुरुमा ज्यामिरे दहलाई ठूलो र व्यवस्थित जलाशयको रूपमा विकास गरेको नगरपालिकाले विभिन्न वडामा ४४ वटा जलाशय बनाइसकेको छ ।
“सिँचाइको मुख्य उद्देश्य राखेर जलाशय निर्माण गरियो । तर, यसबाट बहुआयामिक फाइदा पुगेको छ,” नगरप्रमुख चौधरी भन्छन्, “यी पोखरी पर्यटन, रोजगारी, जैविक विविधताको संरक्षण र विकासका लागि समेत आधार बनेका छन् ।

महेन्द्र बहुमुखी क्याम्पस, दाङका सहप्राध्यापक सुदर्शन रिजाल जलाशयका कारण जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलनमा योगदान पुगेको बताउँछन् । उनी भन्छन्, “जलाशय निर्माणपछि दीर्घकालीन जल सुरक्षाको ग्यारेन्टी गरेको छ । जलाशयका कारण विभिन्न प्रजातिका चरा देखिन थालेको र स्थानीय ‘माइक्रो–क्लाइमेट’ मा सुधार आएको उनले बताए । आर्थिक रूपान्तरण, सामाजिक न्याय, महिला सशक्तीकरण र वातावरणीय सन्तुलनमा पनि यी जलाशयले अप्रत्यक्ष प्रभाव पारेको उनको बुझाइ छ ।– खोज पत्रकारिता केन्द्र