14.4c Kathmandu, Nepal

Sunday, December 7, 2025
३ हप्ता अगाडि

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गएका सांसदमाथि मधेसका सभामुखले गरे हातपात

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका सांसदमाथि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले हातपात गरेका छन्। 

मण्डलले पदअनुकूल आचारण नगरेको भन्दै सात राजनीतिक दलले बिहीबार साँझ उनीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्न गएका थिए। सात दलीय गठबन्धनका ६४ जना सांसद प्रदेशसभा सचिवालय पुग्दा सभामुख मण्डलले गुण्डा परिचालन गरेर विपक्षी सांसदलाई हातपातसमेत गरेका माओवादी केन्द्रका सांसद दबाहरलाल कुशवाहाले बताए। 

‘बिहीबार साँझ हामी २०/२२ जना सांसद सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयमा गएका थियौँ। सभामुख मण्डलले ५०/६० जना गुण्डा परिचालन गरेर हामीमाथि हातपात गर्नुभयो,’ कुशवाहाले नेपालखबरसँग भने, ‘सभामुख आफैँले जनमतका महेश यादवको सर्टको कलर समातेर तान्नुभयो। लोसपाका उपेन्द्र महतो र जसपाका राजु गुप्तालाई पनि हातै हालेर हातपात गर्नुभयो। उहाँले हिजो साँझ आफ्नो कार्यकक्ष अगाडि पूरै गुण्डा शैलीमा सांसदहर”माथि हातपात गर्नुभयो।’

त्यसक्रममा सभामुख र एमालेका कार्यकर्ताले आफूहरूलाई दुई घण्टासम्म उपसभामुखको कार्यकक्षमा थुनेको पनि कुशवाहाले बताए। 

‘सभामुखले गुण्डा उतारेर हामीलाई उपसभामुखको कार्यकक्षमा थुन्नुभयो। बिहीबार साँझ साढे पाँचदेखि साँढे सातसम्म हामीलाई कोठामा थुनियो,’ कुशवाहाले भने, ‘पछि डीएसपीसहित प्रहरी टोली आएपछि मात्रै हामीलाई छाडिएको थियो।’

तर, सभामुख र एमालेको अवरोध छिचोल्दै आफूहरूले सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको उनले बताए। 

कुशवाहाका अनुसार सांसदहरू सचिवालयमा पुग्दा उपसभामुखले तोक लगाइसकेको प्रस्ताव दर्ता गर्न सभामुख मण्डलले रोक्ने प्रयास गरेका थिए। तर, सभामुखले रोक्दारोक्दै पनि सचिवालयका कर्मचारीले उनीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।