विराटनगर । विराटनगरका धीरज ठाकुरले हेल्थ असिन्टेन्ट बनेर बिरामीको सेवा गर्ने सपना पूरा गर्न ११ लाख रुपैयाँ भन्दा बढी खर्चेर पढे । तर विराटनगरको एक प्रतिष्ठित अस्पतालमा उनको मासिक आधारभूत तलब १२ हजार १७० रुपैयाँ मात्रै छ । धीरजजस्ता धेरै स्वास्थ्यकर्मीको यो साझा पीडा हो । पढ्न लाखौं खर्च, तर तलब केही हजारमा सीमित गरिने प्रवृत्तिले अहिले सयौं स्वास्थ्यकर्मीलाई आन्दोलनमा उत्रिन बाध्य बनाएको छ ।
नर्सिङ वा एचए पढ्न एक विद्यार्थीले औसतमा १२ देखि १३ लाख रुपैयाँ खर्च गर्छन् । यो ठुलो लगानीपछि स्वास्थ्यकर्मीले पाउने प्रतिफल भने ‘लेबर’को भन्दा कम तलब हो । यही आर्थिक शोषण र लगानी डुब्ने डरले विराटनगरका सयौं नर्स र पारामेडिक्सहरू ‘हामी मेसिन होइनौं’ भन्दै सडकमा उत्रिएका छन् । उनीहरूको प्रश्न सिधा छ– हाम्रो ज्ञान र सीपको मूल्य यति सस्तो हो ?
धेरै नेपाली अहिले तिहारको उल्लासमा रमाइरहेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी न चाडपर्वमा परिवारसँग हुन पाउँछन्, न त आफ्नो पसिनाको उचित मूल्य नै पाउँछन् । उनीहरूको जीवन अरूको स्वास्थ्य बचाउँदैमा बित्छ । तर आफ्नै जीवनका खुसीहरूबाट वञ्चित भएर सेवा गरिरहेका उनीहरुको पारिश्रमिक भने १२ हजार मात्रै छ । न्यूनतम ३४ हजार रुपैयाँ तलब पाउनुपर्ने उनीहरुको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
‘हाम्रोमा दशैंमा बिदा लिनेले तिहारमा पाउँदैन, तिहारमा लिनेले दशैंमा पाउँदैन । कतिपय स्टाफले त दुवै चाडमा छुट्टी पाएका छैनन्,’ स्टाफ नर्स स्वदेशना सेना कार्की भन्छिन् ।
यो उनीहरूको रहर होइन, बाध्यता हो । छुट्टी मिलाउन पनि उनीहरूले अतिरिक्त श्रम गर्नुपर्छ । हेल्थ असिस्टेन्ट धीरज ठाकुरका अनुसार ‘एक दिनको बिदा पाउन हामीले दुई–तीन रात अतिरिक्त ड्युटी गर्नुपर्छ । सार्वजनिक बिदाको दिन काम गरेबापत कुनै थप सुविधा दिइँदैन ।’ चाडपर्वमा परिवारको यादले सताउँदा उनीहरू अस्पतालको बेडमा बिरामीको सेवामा हुन्छन् ।
बिदाको अभाव त छँदैछ, त्यसमाथि थोरै तलबले उनीहरूको घाउमा नुनचुक छर्किदिन्छ । लाखौं रुपैयाँ खर्चेर नर्सिङ र एचए पढेका उनीहरुका परिवारले सोध्छन् कति कमाइ भयो ? तर उत्तर कुनै हुँदैन ।
‘रातको ड्युटी र ओभरटाइम गरेर महिनामा २५–३० हजार कमाउन हामीले मरिहत्ते गर्नुपर्छ,’ धीरज भन्छन्, ‘तर सरकारले हाम्रो तहका लागि तोकेको न्यूनतम तलब ३४ हजार ७३० रुपैयाँ हो । हामीमाथि योभन्दा ठुलो शोषण के हुन्छ ?’
स्वास्थ्यकर्मी नेतृ अञ्जना पोखरेलका अनुसार नर्सिङ र एचए पढ्न १२ देखि १३ लाख रुपैयाँ खर्च हुन्छ । ‘यति ठूलो लगानी गरेर पढेका दक्ष जनशक्तिलाई १२ हजार तलब दिएर श्रम शोषण गरिँदैछ । यो पैसाले कोठाभाडा तिर्ने कि घरमा रहेका आमाबुबालाई पाल्ने ?’ उनी प्रश्न गर्छिन् ।
जब उनीहरूले आफ्नो अधिकारको कुरा उठाउँछन्, अस्पताल प्रशासनबाट उल्टै धम्की र मानसिक दबाबको सामना गर्नुपर्छ । ‘आन्दोलनमा लागेकालाई जागिरबाट निकाल्ने, डराउने, धम्काउने जस्ता कार्य भइरहेका छन्,’ स्वदेशना भन्छिन् । आन्दोलन चर्किएपछि अस्पताल प्रशासनले तलब वृद्धिबारे छलफल गर्ने र कसैलाई कारबाही नगर्ने मौखिक सहमति जनाएपनि स्वास्थ्यकर्मीहरू विश्वस्त छैनन् । उनीहरूले आफ्नो माग पूरा नभए प्रदेशभरिका १० हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।
उनीहरूको माग सामान्य छ, ‘सरकारले तोकेको न्यूनतम पारिश्रमिक र मानवीय व्यवहार ।’
आन्दोलनका क्रममा एक नर्सले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘१ नर्स १५ बिरामी, शून्य सुरक्षा’ अर्थात् एक नर्सले १५ जना बिरामी हेर्नुपर्ने तर सुरक्षा शून्य । त्यस्तै अर्को प्लेकार्डमा थियो, ‘महँगो अस्पताल, सस्ता नर्स ।’
यस्तै प्लेकार्ड बोकेर विराटनगरको विराट टिचिङ अस्पताल र नोबेल अस्पतालमा पनि आन्दोलन भयो । आन्दोलन चर्किएपछि तत्कालका लागि अस्पताल प्रशासन र स्वास्थ्यकर्मीबिच एउटा सम्झौता भएको छ । सम्झौतामा तलब वृद्धिसम्बन्धी बैठकमा जानकारी गराउने र आन्दोलनमा उत्रिएका कसैलाई पनि कामबाट ननिकाल्ने वा धम्की नदिने उल्लेख छ । तर स्वास्थ्यकर्मीहरू यसलाई ‘तत्कालको लागि आन्दोलन रोक्ने चाल’ मात्र भएको बताउँछन् ।
स्वास्थ्यकर्मी महासंघकी नेतृ अञ्जना पोखरेलले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागु नगरिए कोशी प्रदेशमा मात्रै १० हजारभन्दा बढी स्वास्थ्यकर्मी सडकमा उतार्ने बताउँछिन् ।