14.4c Kathmandu, Nepal

Monday, March 16, 2026
५ महिना अगाडि

सुत्नुअघि तेलले खुट्टा मालिस गर्नुका यस्ता छन् फाइदा

काठमाडौँ । सुत्नुअघि तिल वा तोरीको तेलले खुट्टा मालिस गर्नु पादभ्यंग भनिने प्राचीन आयुर्वेदिक परम्परा हो । हिजो आजको भागदौडले भरिएको जीवनमा तनाव, थकान र निद्राको कमी सामान्य भइसकेको छ । तर यो सरल अभ्यास तपाईंको मन र शरीर दुवैलाई आराम दिने सजिलो उपाय हुनसक्छ ।

पादभ्यंगले वात दोषलाई सन्तुलित गर्छ, शरीरको स्नायुहरूलाई शान्त पार्छ र गहिरो निद्रालाई बढवा दिन्छ भनेर आयुर्वेदले भन्छ । चरक संहिता र अष्टांग हृदयम जस्ता ग्रन्थहरूले पनि यसलाई तपाईंको दैनिक दिनचर्याको एक भाग बनाउन सिफारिस गर्छन् । 

वास्तवमा, हाम्रो खुट्टाको तल्लो भागमा लगभग ७२ हजार स्नायुहरू हुन्छन्, जुन शरीरका विभिन्न अङ्गहरू, जस्तै मुटु, फोक्सो, पाचन प्रणाली र मस्तिष्कसँग जोडिएका हुन्छन् । जब यी बिन्दुहरूलाई तेलले मालिस गरिन्छ, यसको प्रभाव शरीरभरि महसुस हुन्छ ।

तिलको तेललाई मालिसका लागि उत्तम मानिन्छ किनभने यसले वातलाई शान्त पार्छ, छालालाई पोषण दिन्छ र हड्डीहरूलाई बलियो बनाउँछ। यसैबिच, तोरीको तेलले चिसोबाट बचाउँछ, रक्तसञ्चार सुधार गर्छ र मांसपेशी दुखाइबाट राहत दिन्छ । शरीरमा ताप उत्पन्न गर्ने भएकोले जाडोमा मालिस गर्न तोरीको तेलको प्रयोग अझ बढी फाइदाजनक हुन्छ । 

कसरी गर्ने मालिस ? 

खुट्टाको मालिस गर्ने तरिका धेरै सरल छ । सुत्नुअघि आफ्नो खुट्टा राम्ररी धुनुस् र पुछ्नुहोस् । त्यसपछि, मनतातो तेलले हातमा राखेर पैताला, गोलीगाँठो, पिँडुलासम्म लगाउनुहोस् । ५–१० मिनेटसम्म यही तेलले खुट्टा मालिस गर्नुहोस् । यसो गर्दा बिस्तारै शरीरको तनाव कम हुन्छ र गहिरो निद्रालाई आउन थाल्छ । 

आधुनिक विज्ञानले पनि यो प्राचीन अभ्यासलाई पुष्टि गरेको छ । स्नायु विज्ञान र रिफ्लेक्सोलोजीका अनुसार, खुट्टाको मालिसले स्नायु प्रणालीलाई शान्त पार्छ, रक्तसञ्चार सुधार गर्छ र डोपामाइन र सेरोटोनिन जस्ता खुसीका हर्मोनहरूलाई सक्रिय बनाउँछ, जसले निद्रा र मुड सुधार गर्छ ।