नयाँ बिरामी भर्ना गर्न बन्द
विराटनगर, १ कार्तिक । तलबवृद्धिको माग गर्दै विराट टिचिङ अस्पतालका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् ।
नर्सहरुले सरकारले घोषणा गरेको न्यूनतम तलब नपाएको भन्दै आज बिहानदेखि आन्दोलन सुरु गरेका हुन् ।
नर्सहरुले काम छाडेपछि अस्पतालले नयाँ बिरामी भर्ना लिन रोक लगाएको छ ।
अस्पतालले आकस्मिक कक्षमा समेत नयाँ बिरामी भर्ना हालका लागि बन्द गरिएको जानकारी दिएको छ ।
आन्दोलनरत नर्सहरूले सरकारले तोकेको दररेटअनुसारको तलब उपलब्ध गराउन माग गर्दै अस्पताल प्रशासनलाई दबाब दिएका छन्।
उनीहरूले सरकारकै निर्देशन अनुसार तलब दिनुपर्ने भन्दै अन्यथा आन्दोलनलाई कडा बनाउने चेतावनी दिएका छन् ।
अस्पताल प्रशासनले सकेसम्म तलब सुविधा प्रदान गरिरहेको र सरकारसँग बार्ताका लागि तयार रहेको जनाएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेनिस कार्कीले अस्पतालमा करिब ४५० बिरामी उपचाररत रहेको जानकारी दिदै नर्सहरूको अभावमा ती बिरामीहरूको सेवाका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
“नियमित रूपमा कार्यरत नर्सहरूले काम नगरेका कारण अहिले मेडिकल कलेजका विद्यार्थी नर्सहरूबाट काम चलाइरहेको उहाँको भनाइ छ ।
अस्पतालले हाल जटिल तथा बालरोग विभागका बिरामीहरूलाई अन्य अस्पतालमा रेफर गर्ने तयारी गरेको छ ।
उहाँले यस विषयमा जिल्ला प्रशासन कार्यालय, मोरङलाई पनि जानकारी गराइसकेको बताउनुभयो।
कार्कीका अनुसार नर्सहरूले उठाएका मागहरू अस्पताल प्रशासनको अधिकारक्षेत्रभन्दा बाहिर भएकाले सरकारले नीतिगत रूपमा समाधान गर्नुपर्ने बताउनुभयो ।