14.4c Kathmandu, Nepal

Monday, March 16, 2026
५ महिना अगाडि

वार्ता असफल हुँदा भैरहवा मेडिकल कलेजमा नर्सहरूको आन्दोलन जारी

बुटवल। रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफहरूले कार्तिक २ गतेदेखि सुरु गरेको आन्दोलन मंगललबार पनि जारी राखेका छन्।

मेडिकल कलेज परिसरमा नर्सिङ कर्मचारीहरूले प्लेकार्डसहित दैनिक धर्ना र नाराबाजी गरिरहेका छन्। उनीहरूको समस्या समाधानका लागि सोमबार अस्पताल प्रशासन र आन्दोलनरत पक्षबिच वार्ता भए पनि सफल भएन।

नर्सहरूका मुख्य मागहरूमा नेपाल सरकारले तोकेअनुसारको तलब सुविधा पाउनुपर्ने, अतिरिक्त कामको थप भत्ताको व्यवस्था हुनुपर्ने, करार नियुक्ति सम्झौता गरेर मात्र सेवामा लगाउनुपर्ने ज्यालादारीमा काममा लगाउन नपाइने, अनुभवको पत्र उपलब्ध गराउनुपर्ने र नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने छन् ।

उनीहरूले सरकारले असङ्गठित र अदक्ष श्रमिकहरूका लागि न्यूनतम १९ हजार ५ सय ५० रुपैयाँ पारिश्रमिक तोके पनि अस्पतालले आफूहरूलाई अदक्ष कामदारको भन्दा पनि कम तलब दिएर काममा लगाएको गुनासो गरेका छन्। मागसहितको ज्ञापनपत्र बुझाएपछि कार्तिक २ गतेदेखि कामकाज नगरी नर्सहरू आन्दोलनमा उत्रिएका हुन्।\

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका सूचना अधिकारी सुशील गुरुङले रातोपाटीलाई दिएको जानकारीअनुसार आन्दोलनका कारण नयाँ भर्ना र इमर्जेन्सीका बिरामीहरू कम लिइएको छ, जसले गर्दा बिरामी भर्नामा समस्या आएको छ। यद्यपि, ओपिडी भने सञ्चालन भइरहेको उनले बताए।

गुरुङले स्वास्थ्य मन्त्रालयले गठन गरेको तलब वृद्धि सम्बन्धी रिपोर्ट आएमा सोही रिपोर्टको आधारमा तलब वृद्धि गर्न अस्पताल तयार रहेको स्पष्ट पारे। यता, आन्दोलनमा रहेका नर्सहरूले कार्तिक १८ गतेसम्म आन्दोलन जारी रहने र त्यसपछि केन्द्रको निर्णय मान्ने बताएका छन्।

स्वास्थ्य मन्त्रालयले २०८१ मङ्सिर २७ गते निजी अस्पतालमा कार्यरत नर्सिङ तथा स्वास्थ्यकर्मीहरूलाई पनि सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बराबर तलब भत्ता उपलब्ध गराउन निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरेको थियो। उक्त निर्णयलाई अस्पतालहरूले अटेर गरेपछि उनीहरूले देशभर आन्दोलन घोषणा गरेका थिए।