राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नामबाट स्थापना भएको पासाङ ल्हामु निकोल निक्की अस्पताल २०औँ वर्षमा प्रवेश गरेको छ । समुन्द्री सतहबाट झन्डै २ हजार ९ सय मिटर उचाइ लुक्लामा रहेको यस अस्पतालको वार्षिकोत्सव सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि स्विस राजदूत दानियल भेरोनिक मोलीले हिमालयको मुटुमा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पताल स्विस नागरिक र नेपाली नागरिकबीचको एकताको प्रतीक भएको बताइन् । उनले नेपालको दुर्गम क्षेत्रमा सुविधा सम्पन्न अस्पताल २० वर्षसम्म नियमित सञ्चालन हुनु उल्लेखनीय उपलब्धि भएको बताइन् ।
अस्पतालका संस्थापक निकोल निक्कीले अस्पताल र फाउन्डेशनमार्फत मानव सेवामा जोडिएर सहयोग गरेकोमा स्विजरल्याण्डका दाताद्वय रब र राल्फलाई विशेष धन्यवाद व्यक्त गरिन् । उनले रब र राल्फको सहयोगमा जन्म चिल्ड्रेन एजुकेसन प्रोजेक्ट स्थापना गरिएको र जसले गर्दा गर्भवती महिलाहरू यस अस्पतालमा आउन थालेको जानकारी दिइन् । उनले प्रोजेक्टमार्फत अस्पतालमा जन्मेका बालबालिकालाई कक्षा १० सम्म अध्ययन गर्नका लागि वार्षिक छात्रवृत्ति (२२० स्विस फ्रान्क बराबरको नेपाली रकम) बालबालिकाको बैंक खातामा जम्मा गरिएको बताइन् । यो वर्ष २६१ जना बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराएको पनि उनले उल्लेख गरिन् ।
कार्यक्रममा विशिष्ट अतिथि खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले यो अस्पतालले स्थानीयवासी र बाह्य पर्यटकहरूको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको जानकारी गराए ।
अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाले २० वर्षको अन्तरालमा अस्पतालले करिब ३ लाख बिरामीहरूको सेवा गरेको र दुर्गममा १ हजार ५ सय जना बालबालिकाहरूले सो अस्पतालमा जन्म लिएको जानकारी दिए । उनले अस्पतालले निम्न आय भएका परिवारको स्वास्थ्य र शिक्षा ग्यारेन्टी गर्दै आएको र अत्याधुनिक प्रविधिसहित सेवा सुविधा प्रदान गरिरहेको बताए । अस्पतालले आँखा शिविर र हाडजोर्नी शिविरसमेत सञ्चालन गर्दै आएको उनले बताए ।कार्यक्रममा स्थानीय महिला समूहद्वारा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो भने स्वीजरल्याण्ड लगायत विदेशी तथा स्वदेशी पाहुनाहरूलाई स्थानीय परिकारको स्वाद चखाइएको थियो ।