14.4c Kathmandu, Nepal

Sunday, February 8, 2026
४ महिना अगाडि

म्यामोग्राफी मेसिन खरिदमा अनियमितता: अख्तियारको भ्रष्टाचार मुद्दा लागेका अरु १३ जना को हुन् ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमार्फत म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता र मिलेमतोमार्फत् भ्रष्टाचार गरेको आरोपमा तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार स्वास्थ्य सेवा विभागले  ‘प्रोक्युरमेनट अफ मेमोग्राफी मेसिन’ शीर्षकमा भएको खरिद प्रक्रियामा ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लिसँग मिलेमतो गरी लागत अनुमानदेखि भुक्तानीसम्मका सबै चरणमा भ्रष्टाचार भएको देखिएको हो।

आयोगको अनुसन्धानअनुसार सम्झौता बमोजिम सम्पूर्ण सामग्री नआउँदै गलत Post Shipment Inspection Report, Acceptance Letter, र झुट्टा बिल बिजक तयार गरी रु.१३ करोड ३७ लाख ८३ हजारको भुक्तानी गरिएको थियो।  सामग्री प्राप्त नहुँदै भुक्तानी गरिएको पुष्टि भएको आयोगले जनाएको छ।

अख्तियारले जनाएअनुसार उक्त खरिदमा करिब रु.१४ करोड ६ लाख ८५ हजार ५०० बराबरको सरकारी हानी भएको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यो रकम बराबरको जरिवाना र कैद सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

आरोपपत्रमा महानिर्देशक डा मिश्रासहित विभागका तत्कालीन निर्देशक डा. श्रवण कुमार थापा, डा. विवेक कुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफ्ले, कानुन अधिकृत सिता घिमिरे, बायोमेडिकल इन्जिनियरहरू आशिष चौहान र पध्मा मिश्रसहित १४ जनालाई प्रतिवादी बनाइएको छ।

अख्तियारले स्वास्थ्य सेवा विभागले लागत अनुमान अस्वाभाविक रूपमा बढाएको, सार्वजनिक खरिद ऐन र नियमावली उल्लंघन गरी ठेक्का छनोट गरेको र सरकारी सम्पत्तिलाई हानी पुर्‍याउने उद्देश्यले योजनाबद्ध रूपमा मिलेमतो गरेको प्रमाण पाएको जनाएको छ।

1-1760860386.JPG
2-1760860386.JPG
3-1760860387.JPG