14.4c Kathmandu, Nepal

Monday, March 16, 2026
५ महिना अगाडि

भक्तपुर क्यान्सर अस्पतालले ‘बीसीएच प्यालियटिभ केयर कोष’ स्थापना

नेपालमा प्यालियटिभ केयरको विस्तार गर्ने उद्देश्यले भक्तपुर क्यान्सर अस्पतालले ‘बीसीएच प्यालियटिभ केयर कोष’ स्थापनाको घोषणा गरेको छ। विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवसको अवसरमा आयोजित कार्यक्रममा अस्पतालले यो घोषणा गरेको हो।

अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सरका आर्थिक रूपमा कमजोर बिरामीहरूलाई यो कोषमार्फत निःशुल्क सेवा उपलब्ध गराइने जानकारी दिए। उनले जीवनको अन्तिम चरणमा रहेका प्रत्येक व्यक्तिले माया, सम्मान र सहानुभूति पाउनुपर्ने अधिकारमा जोड दिँदै प्यालियटिभ केयरलाई सामाजिक र नैतिक दायित्वको रूपमा लिएको बताए।

कार्यक्रममा डा. चालिसेले अस्पतालले अब देशैभर प्यालियटिभ सेवा विस्तार गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको उल्लेख गरे। साथै, हाल सञ्चालनमा रहेको प्यालियटिभ केयर इकाईलाई पनि थप सुदृढ बनाइने जानकारी दिए। भक्तपुर क्यान्सर अस्पतालमा सर्जरी, विकिरण उपचार, किमोथेरापी, इम्युनोथेरापी, प्रयोगशाला सेवा र सिटी स्क्यान लगायतका सेवाहरू उपलब्ध छन् र यसै वर्षदेखि पिट स्क्यान सेवा पनि सुरु हुनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपाल सरकारले २०२५–२०३५ को राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको र यसले सेवा विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा मिस नेपाल २०२५ लुना लुइटेलले प्यालियटिभ केयरलाई केवल चिकित्सकीय सेवा मात्र नभई मानवीय मूल्यसँग जोडिएको सामाजिक दायित्वको अभियानका रूपमा लिनुपर्ने बताइन्।

घोषित कोषमा सहयोग गर्ने प्रतिवद्धता पनि सोही अवसरमा व्यक्त भयो। लायन्स क्लब अफ बागमती क्यान्सर केयरले एक लाख रुपैयाँ, डीके मेडी सेल्सले पाँच लाख बराबरको, इष्ट वेष्ट कन्सर्नले दुई लाख रुपैयाँ र श्रीमती उषा दीक्षितले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे।

कार्यक्रममा दिवंगत चिकित्सक डा. चाँदनी वैद्य, पूर्व निर्देशक डा. सुदीप श्रेष्ठ, डा. आरती शाह र प्रा. डा. विष्णुदत्त पौडेल लगायतको प्यालियटिभ केयर क्षेत्रमा पुर्‍याएको योगदानको पनि स्मरण गरिएको थियो।