14.4c Kathmandu, Nepal

Monday, March 16, 2026
५ महिना अगाडि

बेलायतमा कार्यरत चिकित्सकले दिए  नेपालमा  अन्तर्राष्ट्रिय स्तरको शल्यकौशल तालिम

नेपालमा अन्तर्राष्ट्रिय स्तरको शल्यकौशल तालिम सम्पन्न भएको छ। मेडिकल विद्यार्थीहरूका लागि रहेको उक्त तालिम आरसीएसईडी (रोयल कलेज अफ सर्जन्स एडिनबर्ग) सीपीडी-एप्रुभ्ड पहिलो यो तालिम नेपाल सशस्त्र प्रहरी अस्पताल, बलम्बु, काठमाडौंमा आयोजना गरिएको थियो।

तालिमको नेतृत्व तालिम निर्देशक  डा विश्व बेक्ह्यात कार्की र सह-तालिम निर्देशक डा. शैलेन्द्र कुमार दुवाल श्रेष्ठले गरेका थिए। तालिम ग्लोबल सर्जरी सिमुलेसन नेटवर्क  द्वारा आयोजित थियो । हेल्थ एक्सचेन्ज नेपाल र सुचर सेन्टरसँगको सहकार्यले अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणलाई सम्भव भएको हो।

तालिम सञ्चालनमा सहयोग पुर्‍याउने तालिम समन्वय  डा. विकास थापा, डा. प्रार्थना सुबेदी र डा. अश्मिता खत्रीले सहभागीहरूलाई प्रत्येक सत्रमा मार्गदर्शन प्रदान गरेका थिए।

आधारभूत शल्यक्रिया सीप  तालिमले भावी चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई शल्यकौशलमा आत्मविश्वासी बनाउने लक्ष्य राखेको थियो। तालिममा गाउनिङ र ग्लोभिङ र नट टाइङ, सिलाई दक्षता (सुचरिङ टेक्निङ), बउल एनास्टोमोसिस, टेन्डन रिपेयर र शल्य उपकरणहरूको सही प्रयोग जस्ता महत्वपूर्ण विषयहरू प्रत्यक्ष अभ्यास मार्फत सिकाइएको थियो।

तालिममा ३१ जना सहभागी मेडिकल विद्यार्थी, प्रशिक्षार्थी चिकित्सक, र नर्सहरूले भाग लिएका थिए। सहभागीहरू नेपालका विभिन्न मेडिकल कलेज र भौगोलिक क्षेत्रहरूबाट आएका थिए, जसले तालिमलाई अझ विविध र समावेशी बनाएको थियो। सहभागीहरूले प्रत्यक्ष अभ्यासबाट सर्जिकल सीपमा आत्मविश्वास बढेको बताएका छन्।

एक सहभागी मेडिकल विद्यार्थीले भने, ‘हामीले यस्ता तालिम प्रायः किताबमा मात्रै पढ्थ्यौं, तर यहाँ आएर प्रत्यक्ष अभ्यास गर्दा आत्मविश्वास अत्यधिक बढेको छ।’

नर्सहरूले पनि दैनिक पेशागत कार्यमा उपयोगी सीप सिक्न पाउनु आफ्नो व्यावसायिक यात्राको महत्वपूर्ण क्षण भएको बताए।

तालिमका निर्देशक डा कार्कीले भने,  ‘नेपालमा भावी चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई शल्यकौशलमा दक्ष बनाउने यस्तो तालिम आवश्यक छ। यसले पेशागत आत्मविश्वास मात्र होइन, स्वास्थ्य सेवा गुणस्तर पनि बढाउनेछ।’

 नेपालमा आरसीएसईडी सीपीडी-एप्रुभ्ड मेडिकल विद्यार्थीहरूको लागि आयोजित यो पहिलो तालिम हो। यसले नेपालमै अन्तर्राष्ट्रिय स्तरको ह्यान्डस-अन- ल्याउने सम्भावना थप गरेको छ। शल्यकौशल जस्ता आधारभूत तर अत्यावश्यक सीप प्रारम्भमै सिक्न पाएमा नेपाली स्वास्थ्य सेवाको दीर्घकालीन स्तर सुधार हुने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय शल्यकौशल तालिमले ३१ जना सहभागीहरूलाई मात्र होइन, सम्पूर्ण चिकित्सा क्षेत्रलाई नयाँ दिशामा अघि बढाएको छ। सहभागीहरूको उत्साह, प्रशिक्षक र कोअर्डिनेटरहरूको प्रतिबद्धता, र अन्तर्राष्ट्रिय स्तरको अभ्यासले यसलाई ऐतिहासिक बनाएको छ।

नेपालमा भविष्यमा थप विद्यार्थी र स्वास्थ्यकर्मीलाई लाभान्वित गर्न यस्तो तालिम निरन्तरता दिने योजना रहेको छ।