14.4c Kathmandu, Nepal

Monday, March 16, 2026
५ महिना अगाडि

बीपी प्रतिष्ठानका चिकित्सकसहित पाँच कर्मचारी बर्खास्त, तीन जनालाई कारबाही

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संस्थाको नियम विपरीत कार्य गर्ने पाँच जना कर्मचारीलाई बर्खास्त र तीन जनामाथि विभागीय कारबाही अगाडि बढाएको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार बर्खास्तमा पर्नेमा प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा मोहन्चन्द्र रेग्मी रहेका छन् । रेग्मी प्रतिष्ठानमा कार्यरत रहँदै काठमाडौंस्थित सिभिल अस्पतालको निर्देशकमा नियुक्त भएका थिए ।

उनी दुई वर्षका लागि काजमा गएका थिए तर काज अवधि सकिएपछि पनि प्रतिष्ठानमा हाजिर नगरेकाले कार्यकारिणी समितिको निर्णयअनुसार उनलाई बर्खास्त गरिएको रजिस्ट्रार संग्रौलाले बताए ।

प्रतिष्ठानकै स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनकी असिस्टेन्ट प्रोफेसर तथा डा. रेग्मीकी पत्नी लक्ष्मी सुवेदीलाई पनि बर्खास्त गरिएको छ । सुवेदीलाई अध्ययन बिदा स्वीकृत नगरी नियम विपरीत विदेश गएको पुष्टि भएपछि उनलाईसमेत बर्खास्त गरिएको रजिस्ट्रार संग्रौलाले बताएका छन् ।

त्यस्तै, प्रतिष्ठानका अन्य कर्मचारीहरू दिरण भट्टराई र सुरेन बास्फोर पनि बर्खास्तीमा परेका छन् । ती कर्मचारीहरूले काममा लापरबाही, प्रशासनिक नियम उल्लंघन र अनुशासनहीन व्यवहार गरेको आरोपमा बर्खास्तीको कारबाही गरिएको रजिस्ट्रार संग्रौलाले बताए ।

यस्तै, हाडजोर्नी विभागका प्रमुख डा. रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीमाथि एक ग्रेड घटाई विभागीय कारबाही गरिएको छ । उनीहरूलेसमेत पदको दुरुपयोग र आन्तरिक नियमविपरीत काम गरेको पाएपछि त्यसअनुसार कारबाही अगाडि बढाइएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अर्का कर्मचारी श्याम लम्सालले एसोसिएट प्रोफेसर बाट प्रोफेसरमा बढुवाको क्रममा नियम उल्लंघन गरेको पाइएको छ । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङका रजिस्ट्रार हुन् ।

प्रतिष्ठानको नियमअनुसार प्रोफेसरमा बढुवा हुन कम्तीमा ६ वर्ष प्रतिष्ठानमै एसोसिएट प्रोफेसरको रूपमा कार्य गरेको हुनुपर्ने र बाहिरी संस्थाको हकमा ७ वर्ष एसोसिएट प्रोफेसरको रुपमा कार्य गरेको हुनुपर्ने व्यवस्था छ । तर लम्सालले सेवा अवधि नपुगी नै बढुवाको प्रक्रिया पूरा गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयमा उजुरी परेपछि छानबिन गर्दै जाँदा सेवा अवधि नपुगेको प्रमाणित भएपछि उनले राजीनामा दिएको बताइएको छ । कार्यकारिणी समितिले निणर्य गरेर दिएको प्रोफेसर पदबाट उनलाई दुई तह घटाएर केही सेवा सुविधा दिने निणर्य गरी राजीनामा स्वीकृत गरेको रजिस्ट्रार संग्रौलाले जानकारी दिए ।

रजिस्ट्रार संग्रौलाका अनुसार प्रतिष्ठानभित्र नियम विपरीत काम गर्ने अन्य दर्जनभन्दा बढी चिकित्सकमाथि पनि छानबिन भइरहेको छ र उनीहरू विरुद्धसमेत कारबाहीको तयारी गरिएको छ ।

प्रतिष्ठानले पछिल्ला वर्षहरूमा बढ्दो प्रशासनिक अनियमितता, नियम उल्लंघन र प्रभावशाली व्यक्तिहरूको दबाबका कारण संस्थाको मर्यादामा आघात पुगेको भन्दै कडाइका साथ सुधार अभियान थालेको छ ।