काठमाडौँ : सरकारले बाथ मुटुरोग रोकथाम र नियन्त्रणका लागि छुट्टै राष्ट्रिय मापदण्ड (नेशनल प्रोटोकल)ल्याउने भएको छ।
यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले सरोकार निकायसँग छलफल अघि बढाएको छ।
ईडीसीडीका निर्देशक डा. चन्द्रभाल झाका अनुसार बाथमुटुरोगलाई नियन्त्रण गर्न राष्ट्रिय मापदण्ड बनाउने योजना यसअघिदेखि भएकाले यसको सुरुवात गरिएको र दुई महिनामै यसलाई अन्तिम रूप दिइने योजना रहेको छ।
दुई महिनाभित्र मापदण्ड अन्तिम रूप दिएर सबैतिरबाट सर्वस्वीकृति भएपछि कार्यान्वयनमा लैजाने गरी काम भएको डा. झाले बताए।
ईडीसीडीमा निर्देशक डा. झाले भने ‘बाथ मुटुरोग व्यवस्थापन तथा नियन्त्रणका लागि मापदण्ड गराउन सुरुवात गरिएको छ, सबै सरोकारवलासँग सर्वपक्षीय रूपमा छलफल गरेर दुई महिनामा नै पूरा गर्ने गरी काम भइरहेको छ’।
त्यसैगरी उक्त मापदण्ड निर्माण सहभागी समेत रहेका नेपाल एनसीडी एलायन्सका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले सरकारले बाथ मुटुरोगप्रति ढिलो भए पनि ध्यान दिएको राम्रो भएको र अब बन्ने मापदण्ड कार्यान्वयन भएमा बाथ मुटुरोग निर्माणमा धेरै सहयोग पुग्ने बताए।
बाथ मुटु रोग बालबालिका र किशोर किशोरीको नम्बर वान कार्डियोभास्कुलर डिजिजमा पर्दछ। नेपालमा हरेक वर्ष करिब ३० हजारभन्दा बढी नयाँ विरामी बाथ मुटुरोगका भेटिने गरेको र तीमध्ये करिब ३ हजार बालबालिकाको मृत्यु हुने सरकारी अनुमान छ।
हुन नेपालमा सन् २०१६ देखि शहीद गंगालाल हृदय केन्द्र र मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बाथ मुटु रोग र भल्भको निःशुल्क सर्जरी गर्ने व्यवस्था छ।
तर अब बन्ने प्रोटोकलले व्यक्तिमा बाथमुटुरोग लागेर उपचार गर्नभन्दा रोग लाग्नै नदिने गरी बालबालिकाको उपचारमा जोड दिनको लागि उक्त प्रोटोकल निर्माण गर्न लागिएको ईडीसीडी निर्देशक डा. झाले बताए।
“फारेन्जाइटिस, घाँटी दुख्ने जस्ता धेरै स्वास्थ्य समस्या भएका बालबालिकालाई बालमुटुरोगको जोखिम हुने हुन्छ तर बालबालिकालाई बारम्बार देखिने यस्ता स्वास्थ्य समस्यालाई कम गर्न सकियो भने भविष्यमा बाथमुटुरोग हुने जोखिम धेरै कम हुन्छ। त्यसैले हामीले बनाउन लागेको मापदण्डमा कस्ता –कस्ता स्वास्थ्य समस्या भएका बालबालिकालाई कसरी उपचार गर्ने भनेर उल्लेख गरिन्छ जसले बाथमुटुरोगलाई कम गर्छ’‚ डा झाले भने।
नेपालमा बाथ मुटुरोगको अवस्था
नेपाल बाथ मुटुरोगका विरामी कति छन् भन्ने यकिन विवरण नभए पनि नेपालमा हरेक वर्ष करिब ३० हजारभन्दा बढी नयाँ विरामी बाथ मुटुरोगका भेटिने गरेको र तीमध्ये करिब ३ हजार बालबालिकाको मृत्यु हुने अनुमान छ।
सरकारले हाल बाथ मुटुरोगका बिरामीको निःशुल्क उपचार गर्दै आएको छ। स्वास्थ्य मन्त्रालयको विवरण अनुसार यसको उपचारका लागि वार्षिक ५० करोड रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ। तर रोगथाम सम्बन्धी कार्यका लागि कति पनि बजेट विनियोजन गरेको छैन ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बाथ मुटुरोगलाई सन् २०२५ सम्म २५ प्रतिशतले घटाउने लक्ष्य लिएको थियो भने सन् २०३० सम्म नसर्ने रोगबाट हुने कम उमेरको मृत्युलाई एक तिहाइले घटाउने लक्ष्य तय गरेको छ।
अहिलेको अवस्थामा बाथमुटुरोग सम्बन्धी लक्ष्य प्राप्तिमा सफलता पाउन कठिन देखिएको छ भने यसमा सफल नभएको अवस्थामा नसर्ने रोगबाट हुने मृत्यु सम्बन्धी पाँच वर्षभित्रका लागि तय गरिएको लक्ष्य भेटाउन पनि मुस्किल हुने विज्ञहरुले बताउँदै आएका छन्। तर अब बन्ने मापदण्डले रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनेमा जोड दिने बताइएको छ।