पर्सामा आजबाट हैजाविरुद्धको खोप दिइँदैछ । हैजा प्रभावित क्षेत्रमा सरकारले खोप दिन लागेको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
पर्सामा आज (असोज २६)बाट सुरु हुनेछ भने बाराका ६ स्थानीय तहमा असोज २९ गतेदेखि सुरु खोप दिइनेछ ।
पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा र बारा जिल्लाका छ स्थानीय तहका एक वर्षभन्दा माथिका सबै व्यक्तिलाई खोप दिइने छ।
महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार यो खोप मुखबाट दिइने खोप हो । यसको एक मात्रा मात्रै दिइने छ । यसभन्दा अगाडि पनि काठमाडौं उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो ।
गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को मुरली टोलबाट देखिन सुरु गरेको हैजा रोग हालसम्म पर्सा र बारा जिल्ला गरी १ हजार ६८५ बिरामी फेला परेका छन् ।
त्यसैले सरकारले हैजाविरुद्ध खोप अभियान चलाउने निर्णय गरेको हो ।