पोखरास्थित मणिपाल र गण्डकी मेडिकल कलेजका नर्स मात्र होइन, अब धनगढीका निजी अस्पतालमा कार्यरत नर्सहरु पनि आन्दोलित भएका छन् ।
धनगढीमा रहेका निजी अस्पताल सञ्चालकहरूले अति न्यूनतम पारिश्रमिकसमेत नदिएर श्रम शोषण गरिरहेको भन्दै धनगढीमा कार्यरत नर्स तथा अन्य स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् ।
निजी अस्पतालहरूले श्रम शोषण गरेको भन्दै धनगढीमा कार्यरत नर्सहरुले “भ्वाइस अफ प्राइभेट हेल्थ प्रोफेसनल्स“ समूह निर्माण गरेर आन्दोलन थालेका हुन्। उनीहरूले आफूहरूका माग जायज भएको र तीनको सुनुवाइ हुनुपर्ने बताएका छन्।
स्वास्थ्य मन्त्रालयले २०८१ मंसिर २७ गते नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको सुविधा सम्बन्धमा पाँच बुँदे निर्देशन अनुसार सरकारी सरह निजीलेपनि तलबभत्ता उपलब्ध गराउनुपर्ने भन्दै धनगढीका नर्सहरु पनि आन्दोलित भएका हुन्।
सरकारले जारी गरेको निर्देशन निजी अस्पतालहरूले कार्यान्वयन नगरेको भन्दै नर्सहरु आन्दोलित भएका हुन्।
स्वास्थ्य मन्त्रालयले न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार नघट्ने गरी लागु गर्न, तोकिएको समयभन्दा बढी समय काममा लगाएर अतिरिक्त भत्ताको व्यवस्था गर्न र कर्मचारीसँग करार सम्झौता गरेर मात्रै काममा लगाउन निर्देशन दिएको थियो ।
यसैगरी नर्सको सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा नराख्न, काम छोडेर जाँदा अनुभवको पत्र दिन र तलब बैङ्किङ प्रणाली मार्फत उपलब्ध गराउन निर्देशन दिएको थियो । सरकारले निर्देशन दिएपनि निजी अस्पतालहरूले यी निर्देशनको पालना नगरेको नर्सको भनाई छ ।
बिहिवार धनगढीका निजी अस्पतालमा कार्यरत नर्सहरु जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका छन् ।
धनगढीका विभिन्न अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुले नेपाल सरकारले तोकेको पारिश्रमिक कुनै अस्पतालले नदिएको बताएका छन्।
निजी अस्पतालहरूले अहेव र अनमी पढेको जनशक्तिलाई सुरूमा ९ हजार तबल दिने र सक्कली प्रमाणपत्र समेत अस्पतालले लिने गरेको गुनासो उनीहरुको छ ।
नर्सहरुले प्रमाणपत्र तह अध्ययन गरेको स्टाफ नर्स, फार्मेसी सहायक र हेल्थ असिस्टेन्टलाई सुरुमा ११ हजार तलब दिने गरेकोले आन्दोलित हुनुपरेको उनीहरुको भनाई छ ।
यस्तै बिएस्सी नर्सिङ अध्ययन गरेको जनशक्तिलाई निजी अस्पतालले सुरुमा १३ हजार तलब दिने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयको २०८१ मंसिर २७ गतेको निर्णयमा न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागु गर्न निजी अस्पतालहरूलाई परिपत्र गरिएको छ। तर अस्पतालहरूले उक्त परिपत्रको बेवास्ता गरेको स्वास्थ्यकर्मीहरूको गुनासो छ।
आधारभूत तलब न्यून दिँदै आएका निजी अस्पतालहरूले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको सक्कल प्रमाणपत्र आफूसँग राख्ने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। यस्तै,अनुभवको प्रमाणपत्र नदिने र तलब बैङ्क खातमा हाल्नुपर्नेमा नगदै दिने गरेको उनीहरूले बताएका छन्।
