काठमाडौँ, २७ असोज । वरिष्ठ प्रत्यारोपण सर्जन तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ ।
उहाँ जन्मथलो बागलुङमा पुरस्कृत तथा सम्मानित हुनुभएको हो ।
डा. तरूण पौडेल चिकित्सा कोषको १३ औं वार्षिकोत्सव एवं १० औ पुरस्कार समारोहका अवसरमा डा श्रेष्ठलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
बाग्लुङमा जन्मनुभएका श्रेष्ठले नेपालको अङ्ग प्रत्यारोपण तथा चिकित्सा सेवाका क्षेत्रमा विशिष्ठ योगदान गरेको भन्दै पुरस्कृत गरिएको हो । सो अवसरमा बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ, साहित्यकार काजी रोशन तथा कोषका संस्थापक तथा संरक्षक डा तरुण पौडेल लगायतद्धारा श्रेष्ठलाई दोसल्ला, फूलमालाले सम्मान गर्दै नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।
सोही समारोहमा डा श्रेष्ठसँगै नवजात शिशुलाई मुखबाट स्वास दिई ज्यान बचाउने स्वास्थ्यकर्मी जानकी पुजारी, लेखनाथ नगरपालिकाका स्थानीय अस्पताललाई १९ रोपनी जग्गा दान गर्ने रेवती रमण पौडेल र बुटवलबाट समाजसेजी अनुप सैंजुलाई पनि सम्मान गरिएको थियो ।
सम्मान पछि बोल्दै डा. श्रेष्ठले बागलुङसँग आफ्नो गहिरो आत्मियता रहेको भन्दै आजसम्मको उपलव्धी पनि बाग्लुङकै दाजुभाई दिदीबहिनीहरुलाई जाने बताउनुभयो । उहाँले अंगदानको महत्वबारेमा प्रकाश पार्दै स्वस्थ्य हुँदा वा मृत्यु पश्चात अंगदान गर्न सबैलाई आह्वान गनुभयो ।
बिद्यामन्दिर माविमा विशेष स्वागत

यसैगरी बागलुङस्थित बिद्यामन्दिर माध्यमिक विद्यालयमा एक विशेष समारोहका बीच विद्यालयका पूर्वविद्यार्थी तथा शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका पूर्व कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र धर्मपत्नी नबिना श्रेष्ठलाई विशेष स्वागत गरिएको थियो ।
उक्त स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीजय श्रेष्ठ, बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष शनि केसी लगायतको उपस्थिति रहेको थियो ।
डा. श्रेष्ठले आफ्नो बाल्यकालका स्मृतिहरू बाँड्दै सन् २०३४ सम्म यसै विद्यालयको विद्यार्थी भएको उल्लेख गरे । साथै, विद्यालयका लागि आगामी दिनहरूमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँकी धर्मपत्नी नबिना श्रेष्ठले विद्यालयको वातावरण र व्यवस्थापनको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाको आवश्यकता र महत्वमा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीजय श्रेष्ठले यस्ता प्रेरणादायी भेटघाटहरूले विद्यालयको शैक्षिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।