काठमाडौँ : चिकित्सकहरू हकहित गर्ने साझा संगठन ‘चिकित्सक संघ’ र नियमन गर्ने ‘नेपाल मेडिकल काउन्सिललाई एकै पटक निर्वाचन लागेको छ।
नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आगामी माघ महिनामा हुने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ।
चिकित्सकहरूको हक हित संरक्षण पैरवी गर्ने संघले विगतदेखि नै दुई चरणमा निर्वाचन गर्दै आएको छ।
नयाँ कार्यसमिति छनौटका लागि गठित केन्द्रीय निर्वाचन समितिले उपत्यका बाहिर र काठमाडौँ उपत्यकामा गरी दुई चरणमा निर्वाचन गर्न सार्वजनिक निर्वाचन तालिकामा काठमाडौँ उपत्यका बाहिर आगामी २ र ३ माघको दिन बिहान ९ देखि अपराह्न ४ बजेसम्म संघका शाखा कार्यालयमा हुनेछ। यसैगरी काठमाडौँ उपत्यकाभित्र भने १५, १६ र १७ माघको दिन बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म संघको केन्द्रीय कार्यालय काठमाडौँमा हुनेछ।
केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष सहित सात प्रदेशबाट प्रादेशिक संयोजक समेत रहने गरी ७ जना उपाध्यक्ष चुनिनेछन्। यसैगरी महासचिव, कोषाध्यक्ष, सहसचिव र सह कोषाध्यक्षमा एक एकजना चुनिनेछन्। यस्तै सदस्यहरूमा भने ६ जना रहनेछन्।
यस्तै नेपाल चिकित्सक संघ परिषद्का लागि ६० जना सदस्य छनौट हुनेछ।
निर्वाचन कार्यक्रमअन्तर्गत मंसिर २५ गते मतदाताको प्रथम नामावली प्रकाशन‚ २७ मंसिरमा नामावलीमाथि दावी विरोध, २८ मंसिरमा दावी विरोधको छानबिन र २९ मंसिरमा अन्तिम नामावली प्रकाशन हुने बताइएको छ।
यस्तै १ पुसमा उम्मेदवारको मनोनयन पत्र वितरण, २ पुसमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका रहेको छ।
संघको निर्वाचनमा यसपटक उम्मेदवारको मनोनयन दर्ता शुल्क अध्यक्ष पदका लागि १० हजार रुपैयाँ तोकिएको छ। यस्तै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव कोषाध्यक्ष, सहसचिव र सह कोषाध्यक्ष पदका लागि ८ हजार रुपैयाँ, सदस्यका लागि ५ हजार रुपैयाँ र परिषद् सदस्यका लागि १ हजार रुपैयाँ मनोनयन दर्ता शुल्क तोकिएको छ।
यसपटकको निर्वाचन गराउन चार सदस्यीय निर्वाचन समिति बनाइएको छ। जसमा डा प्रणयरत्न शाक्य प्रमुख निर्वाचन अधिकृत तोकिएका छन्। यस्तै डा. विवेक राजभण्डारी, डा अतीत पौडेल र अधिवक्ता बाबुराम अर्याललाई निर्वाचन अधिकृत तोकिएको छ।
यता चिकित्सकहरूको नियमन गर्ने नेपाल मेडिकल काउन्सिलले पनि आफ्ना सदस्यहरूको नियुक्तlकf लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ।
मेडिकल काउन्सिलमा अध्यक्ष र केही सदस्य पदमा सरकारले नियुक्त गर्ने भए पनि एक उपाध्यक्ष र आठजना सदस्य पद निर्वाचनबाट छनौट हुने व्यवस्था छ।
सोही व्यवस्थालाई कार्यान्वयन गर्न काउन्सिलले आगामी पुसको पहिलो र दोस्रो साता निर्वाचन कार्यक्रमको घोषणा गरेको छ।
यसअघि निर्वाचित सदस्यहरूको कार्यकाल पुस १ गते सकिदै छ। त्यसैअनुसार नयाँ निर्वाचित उपाध्यक्ष र सदस्यहरूको निर्वाचन तालिका सार्वजनिक गरिएको काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवले बताए।
काउन्सिलले उपाध्यक्ष पदका उम्मेदवारले कम्तिमा १५ वर्षको अनुभव भएको र आठ सदस्य पदका उम्मेदवारका लागि ५ वर्षको अनुभव भएको चिकित्सक हुनुपर्ने उल्लेखअ गरेको छ। उम्मेदवार मेडिकल काउन्सिलमा दर्ता चिकित्सक हुनु आवश्यक छ।
काउन्सिलको २०८२।०८६ कार्यका लागि भन्दै घोषणा गरिएको निर्वाचन तालिकाअनुसार आगामी साता अर्थात् २५ कात्तिकमा पहिलो चरणको मतदाता नामावली प्रकाशन हुनेछ।
२६ कात्तिक बिहान १० देखि अपराह्न ४ बजेसम्म नामावलीमा दावी विरोध दिने अवधि तोकिएको छ।
२७ कात्तिकमा अन्तिम नामावली प्रकाशन, २८ देखि ३० कात्तिक बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दाखिला अवधि, १ मंसिरमा प्रथम नामावली प्रकाशन गर्ने, २ मंसिरमा दावी विरोध, ३ मंसिरमा नामावली प्रकाशन र ४ मंसिरमा नामावली फिर्ता तथा अन्तिम नामावली प्रकाशनको तालिका तोकिएको छ।
काउन्सिलले ४ र ५ पुसका दिन काठमाडौं उपत्यका बाहिर मतदान र ११ र १२ पुसका दिन काठमाडौं उपत्यकाभित्र मतदान हुने जनाएको छ।