14.4c Kathmandu, Nepal

Saturday, November 15, 2025
१ महिना अगाडि

टिचिङका चिकित्सकले अबदेखि औषधि लेख्दा ब्रान्ड होइन जेनेरिकमा र ठूला अक्षरमा लेख्नुपर्ने

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले अबदेखि आफ्ना चिकित्सकहरूलाई बिरामीलाई औषधि लेख्ने क्रममा नयाँ नियम पालना गर्न निर्देशन दिएको छ। अस्पतालले जारी गरेको सूचनाअनुसार चिकित्सकहरूले अब औषधिको नाम कम्पनीको ब्रान्ड होइन, यसको जेनेरिक नाममा र ठूलो (क्यापिटल) अक्षरमा लेख्नुपर्नेछ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवास प्रसाद आचार्यले जारी गरेको सूचनामा यो व्यवस्था नेपाल सरकार र डीन कार्यालयले तय गरेका मापदण्डअनुसार लागू गरिएको स्पष्ट गरिएको छ।

यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकहरूलाई नेपाल सरकार तथा डीन कार्यालयबाट निर्देशित नियम अनुसार बिरामीलाई औषधि प्रेस्क्राइब जेनेरिकमा क्यापिटल लेटरमा गर्न जानकारी गराइन्छ’ डा आचार्यद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।

सामान्यतया चिकित्सकहरूले औषधि लेख्दा ब्रान्ड नाम प्रयोग गर्ने चलन रहँदै आएको छ, जसका कारण बिरामीहरूलाई कहिलेकाहीँ महँगो औषधि किन्नुपर्ने वा सोही ब्रान्ड खोज्दै अलमल पर्नुपर्ने स्थिति आउँथ्यो। अब भने बिरामीले एउटै तत्व भएको सस्तो विकल्प छान्न सक्नेछन्।

त्यस्तै, औषधिको नाम क्यापिटल अक्षरमा लेख्दा हस्तलिखित पुर्जामा अक्षर नबुझिने समस्या घट्ने अपेक्षा गरिएको छ। यसले औषधि पसलका फर्मासिस्टलाई सही औषधि छान्न सजिलो बनाउनेछ र गलत औषधि वितरण हुने सम्भावना घटाउनेछ।

अस्पताल प्रशासनले यो नियम तत्काल लागू हुने र सबै चिकित्सक तथा शिक्षकीय कर्मचारीहरूले कडाइका साथ पालना गर्नुपर्ने चेतावनी पनि दिएको छ।