14.4c Kathmandu, Nepal

Monday, March 16, 2026
५ महिना अगाडि

जेन–जी आन्दोलनका घाइते अझै अस्पतालमै, भन्छन् : ‘हामीमाथि गोली चलाउने र अपराध गर्नेलाई खोइ कारबाही ?

जेन–जी आन्दोलनबाट बनेको सरकारले अब उपचार मात्र होइन, रोजगारीको पनि ग्यारेन्टी गर्नुपर्ने अस्पतालको बेडबाट घाइतेहरूको माग ।

काठमाडौँ — सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको प्लास्टिक सर्जरी वार्डमा ४८ वर्षीया गीता साह जलनको पीडाले छट्पटाइरहेकी थिइन् । अस्पताल ल्याइएको डेढ महिना बित्यो, घाउ निको हुँदै गए पनि घटनाको सद्माले उनलाई बिथोल्न छाडेको छैन ।

जेन–जी प्रदर्शनका क्रममा २४ भदौमा उनी कोटेश्वरस्थित आफ्नो घडी र चस्मा पसलमा सटर लगाएर चोकमा निस्किएकी थिइन् । सुरुमा त सामान्य नै थियो । तर बिस्तारै बढेको भयावह स्थितिले नमिठो दुर्घटना निम्त्यायो । प्रदर्शनकारीले प्रहरीलाई मरणासन्न हुने गरी कुटिरहेका थिए । उनी ती प्रहरीलाई बचाउन भनी अगाडि गइन् र प्रदर्शनकारीलाई अनुरोध गरिन् । तर प्रदर्शनकारीले प्रहार गरेको एसिड उनको शरीरमा पर्‍यो । गीताको दाहिने हात, खुट्टा र पेट जले । अहिले पनि त्यो क्षण सम्झँदा गीतालाई कहाली लाग्छ ।

‘प्रहरी चौकीनिर प्रदर्शन हेर्न निस्किरहेकी थिएँ । तीन–चार जना प्रहरी भाइहरू प्रहरी चौकीमाथि थिए । अरु भागिसकेका थिए,’ उनी सम्झिन्छिन्, ‘आन्दोलनकारीबाट जोगिन प्रहरीले दुई राउन्ड गोली फायर गरेपछि आन्दोलनकारीले बाहिरबाटै प्रहरी चौकीमा आगो लगाए ।’ प्रदर्शनकारीले लगाएको आगो माथिमाथिसम्म फैलिन थाल्यो । प्रहरीहरू बार्दलीबाट भाग्दै थिए । प्रदर्शनकारीले उनीहरूलाई छतमै पुगेर कुटे र घिसारेर सडकमा ल्याए ।

मरणासन्न हुने गरी कुटिएको प्रहरीलाई देखेर उनी हतास भइन् । प्रदर्शनकारीलाई अनुरोध गरिन्, ‘बाबुहरू, होस् अब नकुट । छाडिदेऊ ।’

‘प्रहरी भाइले मलाई यसले गर्दा बाँच्छु कि भन्ने लागेर होला, मेरो खुट्टा च्याप्पै समात्दै भने– आमा मलाई बचाउनूस्,’ उनी घटनाको वर्णन गर्छिन्, ‘एक प्रदर्शनकारीले मलाई आन्टी तपाईं यहाँबाट निस्किनु त भनेर कराए ।’ गीताले फेरि अनुनय गर्दै भनिन्, ‘छाडिदिनु न बाबु अब भयो ।’ प्रदर्शनकारीले भने, ‘अरुको छोरालाई मार्दा माया लागेन । उसलाई मार्दा माया लाग्यो ।’ गीताले थपिन्, ‘सबैको ज्यान उही त हो नि !’ यहीबीचमा अचानक एक प्रदर्शनकारीले फालेको एसिड गीताको शरीरमा लाग्यो । दाहिने हात बल्न थाल्यो । उनले अत्तालिँदै लुगा फुकालिन् ।

त्यतिबेला पनि ती प्रहरी गीताको खुट्टा समात्दै बचाउन आग्रह गरिरहेका थिए । तर, त्यतिबेला गीताकै ज्यानको टुंगो नहुने भइसकेको थियो । खुट्टा र पेट हुँदै गीताको जलन बढ्दै गयो । त्यही बेला स्कुटरमा छोराको साथी आइपुगेछन् । उनले गीतालाई कान्तिपुर हस्पिटल लगे । त्यहाँ पनि आगलागीको जोखिम देखेपछि केएमसी हस्पिटल ल्याइपुर्‍याए । गीतालाई सुरुमा आईसीयूमा दुई हप्ता राखियो ।

गीताका २६ वर्षीय छोरा राहुल त्यो दिनको स्मरण गर्दै भन्छन्, ‘म पनि त्यो दिन बानेश्वरमा आन्दोलनमा थिएँ । ममीले आन्दोलनमा नजान भन्नुभएको थियो । पछि कल गरेर चाँडो आइजो के भनिरहनुभएको थियो । केही समयपछि ड्याडीले कल गरेर खुट्टामा आगो लाग्यो भन्नुभयो । पछि हस्पिटलमा ममीको अवस्था देख्दा सम्हाल्नै सकिनँ ।’

गीतालाई पहिल्यैदेखि आगोको ट्रमा थियो । उनी खाना बनाउँदा ग्यासको रेगुलेटर खोल्न र बन्द गर्न पनि छोरालाई अह्राउँथिन् । ‘झन् अहिले आगो लाग्दा त साह्रै गाह्रो भयो । सुरु सुरुमा एक्लै बर्बराउने हुनुभएको थियो । बिस्तारै कम हुँदै गयो,’ राहुल भन्छन् ।

अस्पतालमा बसिरहँदा राहुललाई बेलाबेलामा चिन्ता लाग्छ । ‘सधैं हाम्रो ख्याल गर्ने ममीलाई नै यस्तो भइरहेको छ । गाह्रो हुने रहेछ,’ राहुल भन्छन् । आफ्नी आमालाई यस्तो अवस्था गराउने मान्छेसँग राहुललाई निकै आक्रोश छ । ‘मैले प्रहरीलाई पनि भनिरहेको छु । त्यो एसिड प्रहार गर्ने मान्छे कुनै हालतमा पक्राउ पर्नुपर्छ,’ राहुल पीडासहितको लबजमा भन्छन् ।

केएमसी एचसीयू वार्डमा उपचारत काभ्रे बेथानचोकका २७ वर्षीय कमल घिमिरे यतिका दिनसम्म पनि अझै तंग्रिन सकेका छैनन् । यतिका दिनपछि आइतबारमात्र काका प्राणनाथ घिमिरेलाई उनले आन्दोलनमा घटना हुँदाको क्षणबारे केही खुलाएका थिए, ‘म भिडियो खिच्दै थिएँ । त्यो दृश्य भिडियोमा पनि हुनुपर्छ । अचानक मलाई गोली लाग्यो ।’

कमलको राधेराधेमा गाई फार्म थियो । भदौ २३ को बिहान डेरी गएर उनी फार्मतिर फर्केनन् । सिधै आन्दोलनमा हिँडे । आन्दोलनमा उनको देब्रे कोखा गोलीले छेड्यो । गोलीले फोक्सोमा पनि ड्यामेज गरेको छ । ‘यतिका दिनपछि हिजो केही बोलेको थियो, आज फेरि बोल्न सकिरहेको छैन,’ काका प्राणनाथ चिन्तित सुनिन्छन् ।

घरको खम्बा थिए कमल । उनी नै घाइते भएर ढलेपछि बाआमा गलेका छन् । ‘दाइ र भाउजू नै अस्पताल आउँदा बेहोस हुनुभयो । त्यसकारण पहिलो दिनदेखि नै कुरुवा मै बसिरहेको छु,’ प्राणनाथले भने । यतिका दिनसम्म पनि सरकारका तर्फबाट कोही नआएको उनको गुनासो छ । ‘हाम्रै छोराहरूको रगतमा टेकेर प्रधानमन्त्री बन्नुभएको सुशीला कार्की अरु ठाउँ पुग्नुभयो । तर यहाँ आएर हामीलाई सान्त्वना दिन भ्याउनुभएन,’ उनले गुनासो पोखे, ‘अनि अहिलेसम्म आन्दोलनका बेला गोली हान्नेलाई सरकारले पक्राउ गरेको छैन । के कुराले अड्काइरहेको छ ?’

सातदोबाटोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत २९ वर्षीय रवि भण्डारी २० दिनअघि केमएसी अस्पतालबाट यता रिफर गरिएका हुन् । उनी अहिले भताभुंग भइरहेको घर व्यवहार सम्झेर चिन्तित बनिरहेका छन् । रविको घर सिन्धुली हो । टीकाथलीमा अस्थायी रूपमा बस्थे । पाँच वर्षअघि कतारको वैदेशिक रोजगारीबाट फर्केपछि पठाओ चलाउँदै आएका थिए । त्यही पैसाबाट घरको ऋण तिर्थे, भाइ पढाउँथे । तर जेनजी आन्दोलनमा गोली लागेपछि उनी विचलित बनिरहेका छन् । अघिल्लो दिन उनी आन्दोलनमा निस्किएनन् । बरु भाइ गएका थिए । साथीहरूसँगै आन्दोलनमा गएका भाइ साथी गुमाउँदै घर फर्किए । त्यही आक्रोशले उनी भोलिपल्ट आन्दोलनमा हिँडे । ‘महाराजगन्जमा थियौं । गोंगबुतर्फबँट अर्को समूह प्रहरी चौकी जलाउँदै आइरहेको रहेछ । म पनि अरुसँगै अगाडि बढ्दै थिएँ । भाटभटेनीको अगाडि मेरो दुव्रे खुट्टाको गोलीगाँठानिर गोली लाग्यो,’ उनी सम्झिन्छन् ।

रवि जेनजी आन्दोलनबाट बनेको सरकारले अब घाइतेहरूको उपचार मात्र होइन, उनीहरूको रोजगारीको पनि ग्यारेन्टी लिनुपर्ने बताउँछन् ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत विक्रम लम्काहाको दिदी सरिता राना भाइ निको हुने प्रार्थना हरेक दिन गर्छिन् । भदौ २४ को साँझ प्रदर्शनका क्रममासात बजे जाउलाखेलमा भाइलाई गोली लागेको थियो । ‘दाहिने खुट्टामा गोली लागेको हो । अहिले सातौँ पटक प्लास्टिक सर्जरी भइरहेको छ । घरमा आमा भाइको अवस्थाले धेरै चिन्तामा हुनुहुन्छ,’ सरिता भन्छिन् ।

विक्रम होटलमा कुक थिए । ‘घरको सबै व्यवहार धानिरहेको भाइले अब काम गर्न सकेन भने ?’ सरिता सम्झेर दुःखी बन्छिन् ।

त्रिवि शिक्षण अस्पतालमै उपचाररत २३ वर्षीय सञ्जय घिसिङको दाहिने हातमा गोली लागेको छ । उनलाई पनि जाउलाखेलमै गोली लागेको थियो । सञ्जय यसअघि राजावादीको प्रदर्शनमा पनि सामेल भएका थिए । ‘राजावादी आन्दोलनमा पनि गएको थियो । त्यतिबेला प्रहरीको लाठी खाएर फर्किएको हो । भदौ २४ को आन्दोलनमा नजा भनेको । गयो । सुरुमा साथीलाई गोली लाग्यो, बोकेर भाग्दै थियो रे ! पछि उसैलाई लागेछ,’ सञ्जयकी आमा भन्छिन्, ‘अझै अप्रेसन गर्न बाँकी छ भन्नुभएको छ । कति दिन लाग्छ, थाहा छैन ।’

त्रिवि शिक्षण अस्पतालमै १८ वर्षका भकबहादुर नेपाली आईसीयूमा उपचाररत छन् । टाउकोमा गोली लागेको उनलाई केही दिनअघि पोखराबाट रिफर गरिएको थियो ।

ट्रमा अस्पतालको एचसीयू वार्डमा प्रकाश बराल र लिजा अधिकारी उपचाररत छन् । आन्दोलनको प्रतीक बनेको आइकोनिक जुत्ता आन्दोलनमा छुटेको थियो । त्यो जुत्ता प्रकाशकै थियो । प्रकाश अहिले आफूलाई एक जना शुभचिन्तकले त्यस्तै अर्को जोर जुत्ता किनिदिएकामा खुसी व्यक्त गर्छन् । ‘आन्दोलनमा त्यो जुत्ता छुट्यो । त्यस्तै खालको जुत्ता एक जना शुभचिन्तकले मायाले किनेर ल्याइदिनुभएछ,’ प्रकाश भन्छन् ।

आन्दोलनका घाइतेहरू बिस्तारै दिन–प्रतिदिन डिस्चार्ज भइरहेका छन् । उनी भने अझै कति दिन बस्नुपर्ने हो, थाहा छैन प्रकाशलाई । ‘अझै एउटा अप्रेसन बाँकी छ भन्छन् । बेला बेलामा दुख्छ,’ उनले भने ।

अस्पतालमै हुँदा प्रकाशका नाममा बाहिर फेक डकुमेन्टहरू बनिरहेको सुन्दा उनी दुःखी भइरहेका छन् । ‘हामी यहाँ हरेक दिन दुखाइ खेपिरहेका छौं । बाहिर भने मेरो नाम बेचिरहेका छन्,’ उनको दुखेसो छ ।

सोही वार्डमा सारिएका लिजा हामी पुग्दा निदाइरहेकी थिइन् । ‘उहाँ पनि हिजो रातभरि दुखेर सुत्न सक्नुभएको छैन । भर्खर निदाउनुभयो,’ प्रकाश सुनाउँदै थिए ।

लिजा बीबीए चौथो वर्ष पास आउट थिइन् । विद्यार्थीहरूको आवाज लिएर उनी २३ भदौमा सडकमा ओर्लिएकी थिइन् । दिउँसो २ बजे आमाले फोन गरेर घर बोलाइन् । उनी घर फर्कने तरखरमै थिइन् । ‘त्यही बेला अगाडिपट्टि हेलमेट लगाएकी दिदीसँग कुरा गर्दै थिएँ, कुरा गर्दागर्दै मलाई गोली लागिसकेछ,’ उनी आफूले भोगेको कहालीलाग्दो त्यो दृश्य केही साताअघिको कुराकानीमा सम्झिएकी थिइन् । गोलीले उनको कुम नै छेडेको थियो ।

जेन–जी आन्दोलनकै अर्का घाइते डडेलधुराका २२ वर्षीय मुकेश अवस्थी पनि हालसम्म ट्रमामै उपचाररत छन् । आन्दोलनका क्रममा देब्रे खुट्टाको घुँडामुनि गोली लागेपछि उनले खुट्टा नै गुमाउनुपरेको छ ।

मुकेश पछिल्लो समय संसद् भवनमा सब–इन्जिनियरिङ गर्थे । सँगसँगै अस्ट्रेलिया जाने तयारीमा पनि थिए । ‘अब यस्तो हालत भइहाल्यो, जाने अवस्था नै भएन,’ मुकेशले उपचारका क्रममा काटिएको आफ्नै खुट्टा हेर्दै केही साताअघि भनेका थिए ।

सिन्धुपाल्चोकका २२ वर्षीय अभिषेक श्रेष्ठ पनि अहिलेसम्म ट्रमा अस्पतालमै उपचाररत छन् । अभिषेक पछिल्लो समय विभिन्न वार्ताहरूमा गोली लागेको घाइते खुट्टा लिएरै गइरहेका छन् । उनको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको थियो । ‘फिलाको मासु झिकेर तल गोली लागेको ठाउँमा राखिएको छ,’ अभिषेक घाउ देखाउँदै भन्छन् । डाक्टरहहरूले नजान अनुरोध गर्दागर्दै पनि उनी जेनजी अभियन्ताको छलफल र प्रधानमन्त्री तथा राष्ट्रपतिसँगका वार्ताहरूमा गएका थिए । ‘किनकि त्यहाँ हाम्रो आवाज पनि त सुनिनु पर्छ । सहिद परिवारका आवाज पनि सुनिनुपर्छ भनेर हो । मेरो सहभागिताको त्यहाँ अर्थ हुन सक्छ,’ उनी भन्छन् । त्यसरी जाँदा उनको खुट्टामा इन्फेक्सन भएछ ।

बाआमाले नजान बिन्ती गर्दागर्दै पनि अभिषेक सडकमा निस्किएका थिए । आन्दोलन हुनुभन्दा तीन दिनअघिसम्म पनि उनलाई जेनजी भन्ने शब्द थाहा थिएन । ‘दुई दिनअघि मात्र शब्दको अर्थ बुझेँ । हाम्रो आन्दोलन हो जानुपर्छ भनेर निस्किएँ । गोली लाग्यो,’ उनी भन्छन् ।

अभिषेक अहिले अस्पतालमा कानुन र संविधानका पुस्तक पढेर समय बिताइरहेका छन् । ‘हामी जेरो पोलिटिक्सबाट आएका मान्छेलाई पुस्तक पढेर धेरै आइडिया हुँदो रहेछ । अहिले अनुभूत गर्छु,’ अभिषेक भन्छन् ।

त्यसैगरी ट्रमामा घाइते सञ्जीव सापकोटा पनि उपचाररत छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा जेनजी आन्दोलनका घाइतेमध्ये अंकित चौलागाईं हालसम्म उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारसम्मको तथ्यांकअनुसार देशभर अब १२ जना जेनजी आन्दोलनका घाइते अस्पतालमा उपचाररत छन् । जसमध्ये ट्रमा अस्पतालमा ५, त्रिवि शिक्षण अस्पतालमा ३, केएमसीमा २, बी एन्ड बीमा १ र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा १ जना उपचाररत छन् ।