भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै देशव्यापी रूपमा भएको ‘जेनजी आन्दोलन’का क्रममा कार्यालय भवन जलेर ध्वस्त भएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रभावित भएको छ ।
शिक्षा, सेवा र अनुसन्धानको पाटोलाई एकमुष्ट अघि बढाउने प्रयत्न गर्दै आएको प्रतिष्ठानको कार्यालय भवन आन्दोलनका क्रममा जल्दा स्वास्थ्य सेवा प्रवाहको काम प्रभावित भएका हुन् । जेनजी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएको तोडफोड र आगजनीबाट बागमती प्रदेशको राजधानी हेटौँडास्थित प्रतिष्ठानको कार्यालयमा समेत क्षति भएको हो ।
आगजनीबाट प्रतिष्ठानको केन्द्रीय कार्यालय भवन र त्यहाँ रहेका जिन्सी तथा कागजात खरानीमा परिणत भएको थियो । जेनजी आन्दोलनका क्रममा प्रतिष्ठानको ४ सवारी साधनसहित प्रशासनिक ब्लकको जिन्सी सामग्री जल्दा ६ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो ।स्वास्थ्य सेवा विस्तारका लागि तयारी गरिएका विभिन्न विभागको टेण्डर सम्बन्धी फाइल जल्दा प्रतिष्ठानको काम ६ महिना पछाडि धकेलिएको रजिष्ट्रार भीमसागर गुरागाईंको भनाइ छ । टेण्डरको अन्तिम तयारीमा रहेका एनआइसीयू, २०० शय्या विस्तार, मर्चरी चेम्बर, डायलाइसिस लगायतका सेवा विस्तारको काम प्रभावित भएको उनले बताए ।हेटौँडा अस्पतालमा सेवा गर्ने गरी प्रतिष्ठानले चालु आर्थिक वर्षमा उक्त सेवाका लागि टेण्डर प्रक्रिया थालेको थियो । आन्दोलनमा कागजात जल्दा पुनः सुरुवातबाट सार्वजनिक खरिद ऐन अनुसारको प्रक्रिया गर्नुपर्ने बाध्यता देखिएको गुरागाईंले बताए ।
शैक्षिक कार्यक्रमतर्फ हेटौँडा अस्पतालमा २०० शय्या विस्तार गरेर एमबीबीएस कक्षा सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानको यो लक्ष्य पनि प्रभावित भएको छ । स्मार्ट बोर्ड, कम्प्युटर, ल्यापटप लगायतका सामग्री जल्दा अध्यापन कार्यमा समेत समस्या भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका रजिष्ट्रार गुरागाईंले आगजनीबाट प्रतिष्ठानको स्वास्थ्य सेवा विस्तारका महत्त्वपूर्ण योजनामा गम्भीर धक्का पुगेको बताए । हेटौँडा अस्पतालको प्रशासनिक कार्य पनि सोही भवनबाट सञ्चालन हुने भएकाले समस्या झनै जटिल बनेको उनको भनाइ छ ।
आगजनीले भौतिक संरचना र योजनामात्र नभएर प्रतिष्ठानको इतिहास र भविष्यको आधार खरानी बनेको रजिष्ट्रार गुरागाईंले बताए । उनका अनुसार अडिटसँग सम्बन्धित पाँचदेखि दश वर्ष पुराना फाइल, स्टोर म्यानेजमेन्टका भौतिक अभिलेख र स्थापनाकालदेखिका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । प्रतिष्ठानले हेटौँडा अस्पतालमा पीआईसीयू सेवा, डायलाइसिसको १५ बेड, आईसीयूको १५ बेड, मर्चरी चेम्बर थप गर्न डकुमेन्ट तयार पारेर अपलोड गर्ने क्रममा रहेको अवस्थामा क्षति भएको उनले बताए । आन्दोलपछि प्रयोगशाला, मेडिसिनका टेन्डर अघि बढाउन निकै कठिन भइरहेको उनले प्रस्ट पारे ।
‘प्रतिष्ठानको प्रशासनिक अड्डा नै जलेर नष्ट भएको छ । अनलाइन र सफ्टवेयरमा भएका कुरा त जोगिए, तर नियमअनुसार भौतिक रूपमा राख्नुपर्ने सबै अभिलेख गुम्यो,’ गुरागाईंले भने, ‘हामीलाई एक स्टेपको होइन, धेरै ठुलो समस्या आइपरेको छ । हेटौँडा अस्पताल र हाम्रो प्रशासनिक कार्यालय एउटै थियो । त्यो जलेर नष्ट भयो ।’
शैक्षिक कार्यक्रम भने तत्कालका लागि प्रभावित नभएको उनले बताए । यद्यपि, प्रशासनिक केन्द्रविना शैक्षिक कार्यक्रमको दीर्घकालीन सञ्चालन र व्यवस्थापनमा चुनौती रहेको उनको भनाइ छ । विशेषगरी, चिकित्सा शिक्षा आयोगबाट अनुमति पाएको एमबीबीएस कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानलाई समस्या परेको उनले बताए ।
‘हाम्रा कलेज र प्रयोगशाला फरक–फरक ठाउँमा भएकाले कक्षा र परीक्षा नियमित रूपमा चलिरहेका छन् । विद्यार्थीहरूको भर्ना, शुल्क र परीक्षासम्बन्धी डाटाहरू अनलाइन सफ्टवेयरमा सुरक्षित रहेकाले शैक्षिक अभिलेखमा क्षति पुगेको छैन,’ रजिष्ट्रार गुरागाईंले भने, ‘एमबीबीएस कक्षा सञ्चालनका लागि हामीलाई निकै गाह्रो भएको छ । हामीले दिनरात खटेर अस्पतालकै नयाँ भवनको दुई तलालाई एकेडेमिक ब्लकको रूपमा प्रयोग गर्ने विकल्प खोजिरहेका छौँ ।’
जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार र बेथितिका मुद्दाहरू जायज भए पनि त्यसको आक्रोशमा एउटा महत्त्वपूर्ण स्वास्थ्य र शैक्षिक संस्थाको भविष्यलाई सङ्कटमा पार्ने प्रयत्न भएको उनले बताए । खरानीको थुप्रोबाट उठेर आफ्नो लयमा फर्किन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप ३÷४ महिना लाग्ने उनको भनाइ छ ।
रजिष्ट्रार गुरागाईंका अनुसार अस्पतालको नयाँ भवनमा पाँच तला भए पनि बजेट अभावले सबै चलाउन सक्ने अवस्था छैन । त्यसैले तीन तलामा बिरामीको सेवा र दुई तलामा कक्षा सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ ।