काठमाडौँ, २७ असोज। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्ने भएको छ ।स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाले गत २३ र २४ भदौको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्ने जानकारी दिएको हो ।
महाशाखाका प्रमुख डा.सरोज शर्माले प्रत्येक अस्पतालबाट एक एक जना सदस्य रहने गरी समिति गठन गरिएको र उक्त समितिको बैठक बसिसकेको बताउनुभयो । उहाँका अनुसार समितिमा वीर अस्पतालबाट २ जना र बाँकी पाटन, सिभिल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, मानसिक अस्पताल बाट एक एक जना रहनेगरी समिति गठन गरिएको छ । समितिको सदस्यमा गृह मन्त्रालयबाट उपसचिव र समितिको सदस्य सचिवमा महाशाखाका उपसचिव इश्वरी ढकाल हुनुहुन्छ ।
घाइतेहरूको वर्गीकरणको मापदण्ड बनाउन विज्ञ टोली गठन गरिएको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या दुई हजार ३१६ छ ।