14.4c Kathmandu, Nepal

Tuesday, September 15, 2026
११ महिना अगाडि

चिकित्सकको अनुमति बिना बिक्री गरेको औषधि बरामद

प्रहरी वृत्त महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गरिएको औषधि बरामद गरेको छ।

काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले मात्र बिक्री गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

बरामद गरिएका औषधिहरूमा स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल रहेको वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।

उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम लगायतले सञ्चालन गरेको पाइएको छ । औषधि व्यवस्था विभागसँग समन्वय गर्दा ती औषधिहरू मापदण्ड विपरीत बिक्री गरिएको पाइएको प्रहरीले जनाएको छ।