14.4c Kathmandu, Nepal

Monday, November 10, 2025
३ हप्ता अगाडि

ग्राण्डी अस्पताल बन्यो नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्र ‘एडभान्स स्ट्रोक सेन्टर’ का रुपमा मान्यता प्राप्त गर्ने नेपालको पहिलो अस्पताल बनेको छ ।

डब्लुएसओले ग्राण्डी अस्पतालको गुणस्तरीय सेवाको मूल्यांकन गरी अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा गत शुक्रबार उक्त मान्यता प्रदान गरेको अस्पतालले जनाएको हो ।

अस्पतालले आइतबार गरेको पत्रकार सम्मेलनमा ग्राण्डीका न्यूरोलोजिस्ट तथा मस्तिष्कघात उपचारका निर्देशक डा. राजु पौडेलले मस्तिष्कघात विश्वव्यापी रुपमा हुने मृत्यु र शारीरिक अशक्तताको मुख्य कारण रहेको जानकारी दिँदै नेपालमा प्रत्येक १० मिनेटमा एक जना व्यक्ति मस्तिष्कघातबाट पीडित हुने बताए । डा. पौडेलका अनुसार विश्वव्यापी रुपमा हरेक चार सेकेन्डमा एक जनालाई मस्तिष्कघात ‘स्ट्रोक’ हुन्छ ।

नेपालजस्ता विकासोन्मुख देशमा यस्ता समस्या धेरै बढेको र भयावह अवस्था रहेको उनले बताएका छन् ।

‘विश्वव्यापी रुपमा नै हेर्ने हो भने स्ट्रोक हुनेको संख्या धेरै नै बढेको छ । विकसित देशमा ७०/७५ वर्ष भएका समूहलाई यस्तो समस्या भएको देखिन्छ । नेपालजस्ता विकासोन्मुख देशमा युवालाई देखिन्छ,’ उनले भने, ‘स्ट्रोकको समयमै उपचार भएमा बिरामीको जीवन बचाउनको साथै, अपांगताबाट बचाउन सकिन्छ । नेपालमा मुटुको समस्या भएर त्यसपछि रगतको ढिक्का गएर मस्तिष्कमा असर गर्ने समस्याहरु धेरै देखिन्छ ।’

सरकारले हरेक प्रदेशमा स्ट्रोक उपचारको लागि अस्पतालको राम्रो व्यवस्था गर्नुपर्ने पौडेलले जनाएका छन् ।

अस्पतालका न्यूरोइन्टरभेन्सन रेडियोलोजिस्ट डा. सुवास फुयालका अनुसार मस्तिष्कघात भएको बिरामीको उपचार गर्दा प्रत्येक क्षण महत्त्वपूर्ण हुने बताएका छन् । अस्पतालले नेपालभरका बिरामीलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको मस्तिष्कघात उपचारमा सहयोग पुर्‍याउन मद्दत गर्ने उनले जानकारी दिए ।

अस्पतालका निर्देशक डा. विनोद बिजुक्छेले नेपालमा न्यूरोलोजिकल उपचार विकास गर्न, मस्तिष्कघात उपचार र बिरामीको हेरचाहको लागि उच्चतम अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहेको जनाएका छन् ।