आर्थिक वर्ष २०८१/०८२ मामात्रै गण्डकी सरकारले हेमोडायलाइसिस सेवाको विस्तार र सुदृढीकरण मार्फत पालो कुर्नुपर्ने बिरामीको सङ्ख्या ह्वात्तै घटायो ।
प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत नै प्रदेशभित्र पालो कुर्नुपर्ने बिरामीको सङ्ख्या शून्यमा झार्ने नीति लिएको छ । गएको वर्षमा मात्रै ३०६ जना पालो पर्खनुपर्ने बिरामीको सङ्ख्या घटेर १ सयमा झरेको छ ।
एकै वर्षमा २०६ जना बिरामीलाई नियमित डायलायसिस सेवा सुरु गरिएको गण्डकीका स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिए ।
गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक सबै जिल्लाबाट डायलाइसिस सेवा विस्तार भइसकेको छ । सरकारी र निजीसहित १७ अस्पतालबाट डायलायसिस सेवा गण्डकीमा प्रवाह हुन्छ । ती अस्पतालमा १ सय ७६ वटा मेसिन छ भने ८ सय ४३ बिरामीले नियमित उपचार पाउन सकेको मन्त्री पाठकले बताए । तर ३० वटा मेसिन बिग्रिएर थन्किएको छ । एउटा मेसिन अहिले पनि सञ्चित अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७९ जना बिरामी छन् । तीमध्ये ४३ जना प्रतीक्षारत र १३६ जना सक्रिय बिरामी छन् । त्यसैगरी, गण्डकी मेडिकल कलेजमा २ जना प्रतीक्षारत र ८० सक्रिय गरी ८२ बिरामी छन् ।
मणिपाल शिक्षण अस्पतालमा २४ प्रतीक्षारत र ६० सक्रिय सहित ८४ जना, प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, कास्कीमा ८५ जना सक्रिय बिरामीले सेवा लिइरहेका छन् ।
गण्डकी सरकारले प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा २५ शय्या क्षमताको डायलाइसिस सेन्टर सञ्चालन गरेको छ । यसको सञ्चालनका लागि विशेषज्ञ चिकित्सकसहित ४३ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । फिस्टेल हस्पिटलमा १४ जना उपचाररत छन् भने चरक अस्पतालमा ६५ जना छन् । त्यसमध्ये ७ जना पालो पर्खिएर बसेका छन् ।
‘डायलायसिस लिइरहेको बिरामीले नछोड्दासम्म पर्खिने बिरामीले पालो पाउँदैन । कि पुरानो बिरामी निको भएर जानुपर्छ, नभए लामो समय होल्ड हुन्छ,’ पाठकले भने, ‘पालो पर्खनुपर्ने अवस्था शून्यमा झार्ने हाम्रो लक्ष्य छ । यो वर्ष पनि सेवा थप गर्ने योजना छ । प्रयास गरिरहेका छौँ ।’
लेकसिटी अस्पतालमा ४ जना पालो पर्खिने र २५ जना सक्रिय सहित २९ जना छन् भने लमजुङ अस्पतालमा ४१ जनाले डायलायसिस गराइरहेका छन् । पर्वतमा २१ जना, बेनीमा ३४ जना, गोरखामा ३० जना, स्याङ्जामा १३ जना र जीपी कोइराला अस्पतालमा ७ जनाले उपचार लिइरहेका छन् ।
बागलुङको धवलागिरि अस्पतालमा १२ जना पालो पर्खिएर बसेका छन् भने ५७ जना अहिले उपचाररत छन् । नवलपुरको मध्यविन्दु अस्पतालमा पनि ५ जना पर्खिएर बस्दा ४३ जनाले डायलायसिस लिइरहेका छन् । तनहुँको दमौली अस्पतालमा ७५ जना बिरामी रहेकोमा २ जना पालो पर्खिरहेका छन् भने स्याङ्जाको वालिङ अस्पतालमा ६७ बिरामी रहेकोमा १ जना पालो पर्खिरहेका छन् ।
‘डायलायसिस लिइरहेको बिरामीले नछोड्दासम्म पर्खिने बिरामीले पालो पाउँदैन । कि पुरानो बिरामी निको भएर जानुपर्छ, नभए लामो समय होल्ड हुन्छ,’ पाठकले भने, ‘पालो पर्खनुपर्ने अवस्था शून्यमा झार्ने हाम्रो लक्ष्य छ । यो वर्ष पनि सेवा थप गर्ने योजना छ । प्रयास गरिरहेका छौँ ।’
चालु आर्थिक वर्ष २०८२/८३ मा पनि प्रदेश सरकारले थप डायलाइसिस मेसिन थप गर्ने र सेवाको सिफ्टमा वृद्धि गरी प्रतिक्षारत सङ्ख्यालाई शून्यमा झारिने उनले सुनाए । यसैगरी, प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, पोखरामा हेमोडायलाइसिसका लागि एभी फिस्टुला निर्माण निःशुल्क गर्ने कार्यक्रमसमेत अघि सारिएको छ ।
यसबाट बिरामीहरूलाई निजी अस्पतालमा गएर करिब ३० देखि ४० हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यताको अन्त्य हुने मन्त्रालयका गुनासो सुन्ने अधिकारी डा. रमेश केसीले जानकारी दिए । यसबाहेक मन्त्रालयले मिर्गौला रोगका बिरामीको सङ्ख्या कम गर्न बृहत् स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
उच्च रक्तचाप र मधुमेहका बिरामीका कारण मिर्गौला बिरामी बढ्ने अध्ययनले देखाएको छ । गत वर्ष गण्डकी प्रदेशका १४ वटा स्थानीय तहका ४ हजार २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको डा. केसीले बताए । ‘सानै उमेरबाट स्वस्थकर जीवनशैली अपनाउन प्रेरित गर्न विद्यालय शिक्षा कार्यक्रम, गृहिणीहरूका लागि भान्छा सुधार कार्यक्रम, नसर्ने रोगको रोकथाम एवं नियन्त्रणसम्बन्धी पैरवी र योग, ध्यानजस्ता कार्यक्रमहरूलाई समेत जोड दिइएको छ,’ उनले भने ।