14.4c Kathmandu, Nepal

Sunday, February 8, 2026
४ महिना अगाडि

के जेन-जी आन्दोलनपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढेको छ ?

काठमाडौँ — भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र प्रदर्शनमा हिंसाका घटना मात्रै भएनन् सरकारीदेखि निजी संरचनामा आगजनी र विध्वंस पनि भए ।

उत्तेजित र आक्रोशित मानिसको भीड आगजनीमा उत्रिएको, प्रहरीको गोली लागेर रगताम्य भएकाहरु सडकमा ढलेको, घाइतेहरुले उपचारको पर्खाइमा हार गुहार गरेकोदेखि आफैंलाई सम्हाल्न नसकिरहेका मृतकका परिवारजन र आफन्ती रोइकराइ गरेका जस्ता अनेकन् दृश्यहरु आन्दोलनको महिनादिन बितिसक्दा पनि सामाजिक सञ्जालमा घुमिरहेका छन् । यस्ता त्रासदीपूर्ण र कारुणिक दृश्यले बालबालिकादेखि अन्य उमेर समूहमा मानसिक समस्या सुरु हुन थालेको मनोचिकित्सकहरुले बताएका छन् । जेन-जी आन्दोलनपछि कैयन् दिनसम्म बनेको अस्तव्यस्त दैनिकीका कारण आम नागरिकको मनोबल खस्किएको छ । यसको असर पनि मानसिक स्वास्थ्यमा पर्ने जोखिम उत्तिकै छ ।

आन्दोलनमा घाइते भएकाहरुमा पनि आन्दोलनका बेला भएका घटना सम्झेर डर लाग्ने र तनाव बढेजस्तो हुने गरेको अनुभव सुनाए । जेन–जी आन्दोलनका क्रममा संसद् भवनअघि दाहिने हातमा गोली लागी घाइते भएको २२ वर्षीय आईवन मगर दसैंअघि अस्पतालबाट डिस्चार्ज भएका थिए । अहिले घरमै बेड रेस्ट गरिरहेका उनले आन्दोलनका क्रममा घटेका बारम्बार सम्झनामा आइरहने र त्यो सम्झिँदा अहिले पनि मनमा डर पैदा हुने गरेका बताए । उनले भने, ‘आन्दोलनमा चलेको गोली, एकएक गर्दै भुइमा ढलेका साथीहरु सम्झँदा निद्रा पनि लाग्दैन । बल्लबल्ल निदाएँ भने गोली चलेको जस्तो आवाज कानमा आएर झस्किन्छु ।’

उनले घटनाको दिन रगताम्य भएको सडक र आफ्नो शरीरमा लतपतिएको रगत सम्झेर अझै पनि डर महसुस हुने गरेको बताए । उनले सुनाए, ‘आन्दोलनमा गोली लागेका साथीहरुलाई एम्बुलेन्समा लैजाने गर्दा मेरो कपडा, जुत्ताभरि रगत लागेको रहेछ । अनि पछाडि मेरो दाहिने हातमा पनि गोली लाग्यो अहिले रगत भनेर सम्झँदा पनि डर लाग्छ ।

जेन–जी आन्दोलनपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या धेरै देखिन थालेको नेपाल मेडिसिटी अस्पतालकी मनोचिकित्सक डा. ऋचा अमात्यले बताइन् । उनले अस्पताल आएकामध्ये केही निको भइसकेका घाइते र केही नयाँ बिरामी भएको बताउँदै यसरी आउनेको संख्या बढेको बताइन् । उनले भनिन, ‘पहिले एन्जाइटी, डिप्रसेन साथै अन्य मानसिक समस्या निको भइसकेका बिरामीलाई पनि आन्दोलन पछि पुन: लक्षण देखिन थालेको छ । नयाँ बिरामी पनि परार्मशको लागि आउने संख्या बढेको छ ।’

कस्ता समस्या लिएर धेरै बिरामी आएका छन् ?

अमात्यका अनुसार आन्दोलनपछि मनमा धेरै कुरा खेल्ने, निद्रा नलाग्ने समस्याका बिरामी बढेका छन् । ‘निद्रा नलाग्ने, मनमा कुरा खेल्ने, घरमा भएको आगलागी वा तोडफोड देखेर आफू बस्दै आएको ठाउँमा पनि यसैगरी आगो लगाउने हुन् कि भन्ने डर, घरमा आएर कसैले केही नराम्रो गर्ने हुन् कि भन्ने नकारात्मक सोच डर, त्रास सिर्जना भएका बिरामी धेरै आएका छन्,’ उनले भनिन् । उनले यस्ता समस्या लिएर आउनेमध्ये धेरैजसो २५ देखि ५५ वर्ष उमेर समूहका भएको बताइन् ।

मनोचिकित्सक अमात्यका अनुसार आन्दोलनमा सहभागी भएका मानिसमा पनि मानसिक स्वास्थ्य समस्या विस्तारै देखिन सक्ने उनको भनाइ छ । उनले आन्दोलनमा प्रत्यक्ष सहभागी भएका, घटनालाई नजिकबाट नियालेका, गोली लागेकाहरुलाई तोडफोड भएको घटना सम्झेर डर लाग्ने अर्थात् ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) हुने सम्भावना धेरै हुन्छ । ‘कुनै डर लाग्दो घटनापछि मानिसमा त्यो समयका विभिन्न क्षण बारम्बार याद आउने, मन आत्तिने, घटना घटेको स्थलतिर जाँदा डर लाग्ने, जान नपरे हुन्थ्यो जस्तो हुने । डरलाग्दो सपना देख्ने, तनाव हुने समस्या धेरैमा देखिन सक्छ,’ उनले भनिन् ।

उनले सामाजिक सञ्जालमा विभिन्न डरलाग्दा घटनाका भिडियो बारम्बार हेर्नाले पनि मानसिक स्वास्थ्यमा ठूलो असर पर्ने बताइन् । ‘कुनै घटनाको बारेमा बारम्बार दृश्य, भिडियो देख्दा सेकेन्डरी ट्रमा हुन्छ । आफू प्रत्यक्ष रूपमा नदेखेको तर बारम्बार विभिन्न सामाजिक सञ्जालका माध्यमबाट होस् वा कसैले एउटै घटनालाई बारम्बार भनि राख्दा मुडमा समस्या आउने, निद्रा नलाग्ने, डर लाग्ने हरकोहीलाई हुन सक्छ,’ उनले भनिन् ।

उनले आफूकहाँ अएका एक ४५ वर्षीय पुरुषको समस्या सुनाइन् । बाइपोलर डिसर्डर विथ साइकोसिस फिचर्ससम्बन्धी समस्या भएका ती बिरामीको स्वास्थ्यमा धेरै सुधार भएपनि जेन–जी आन्दोलनपछि पुरानो समस्या बल्झिएको उनले बताइन् । पछिल्लो आन्दोलनपछि भने रिस उठ्ने, भ्रमात्मक सोच र अनुभव बढ्ने, चिडचिडाहट उत्पन्न हुने र पुराना समस्याहरू बल्झिन थालेका छन् । ‘एउटा साधारण आम नागरिक तर उनको सोचाईमा देश बचाउने मैले नै हो, देशको सम्पूर्ण जिम्मा अब मेरो हातमा छ, म ठूलो नेता हो । यो जे घटना भयो यसको सुधार मबाट नै हुने हो जस्तो (डिल्युजन) बढेको समस्या थियो,’ उनले भनिन् ।

बालबालिकामा पनि पर्दैछ असर

जेन–जी आन्दोलनमा भएको युवाहरूको मृत्यु, आगजनी, तोडफोड तथा विध्वंसले बालबालिकाको मस्तिष्कमा पनि नराम्रो छाप छोडेको त्रास र भयको सिर्जना भएको मनोचिकित्सकहरु बताउँछन् । बाल मनोरोग विशेषज्ञ डाक्टर अरुण कुँवर कुनै मानिसहरु आत्तिने, डराउने, पीर पर्ने, बालबालिकाहरू स्कुल जान डराउने, डरले घरमा ढोका लगाउने जस्ता समस्याहरू कुनै घटना (विपद्) पछि बालबालिकालाई मात्र नभएर हरकोहीलाई हुनसक्ने बताए । भन्छन्, ‘साधारण प्राकृतिक प्रकोप जस्तै कि भूकम्पले जसरी मानिसहरूमा डर पैदा गरेको थियो । कोभिड, युद्ध यस्ता विपद्का घटनाले मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू पहिलाको तुलनामा बढ्छन् । केही मानिसमा दुई चार हप्तापछि बिस्तारै आफैं सञ्चो पनि हुन्छ । तर कोहीलाई परामर्शको आवश्यकता नै पर्ने खालका समस्या देखिन्छन् ।’

कक्षा ८ मा पढ्ने एक बालक तनाव महसुस गर्ने र सुसाइडको प्रयास गर्नेजस्ता समस्या थियो । उपचारपछि उनीमा राम्रो सुधार पनि भएको थियो । भविष्यमा देशको एक सफल नेता बन्न चाहने ती बालकमा पनि जेन–जी आन्दोलनपछि मानसिक समस्या बल्झिएको बताए । परामर्शका क्रममा ती बालकले बाँचेर के काम भन्ने जस्ता सोचहरु आएको बताएका थिए ।

बालमनोरोग विशेषज्ञ कुँवरका अनुसार फेक न्युज र हिंसाजन्य घटनाका भिडियोहरु बालबालिकालाई हेर्न र सुन्न दिनुहुँदैन । उनले भने, ‘विकारियस ट्रमा आफूले प्रत्यक्ष नदेखेपनि सामाजिक सञ्जालमा बारम्बार एउटै घटना हेर्नुले, घटनाको बारेमा सुन्नाले त्यसले अरुलाई भएको कुरा आफैंलाई भएको जस्तो बनाउँछ र मनमा डर पैदा हुने, तनाव उत्पन्न हुने हुन्छ ।’

कस्तो अवस्थामा बालबालिकालाई तुरुन्त परामर्शको लागि लैजाने ?

– बारम्बार डराउने, कही कतै जान नमान्ने

–राम्रोसँग नसुत्ने, रुने, कराउने, झगडा गर्ने

– मृत्युसँग सम्बन्धित कुराहरू गर्ने

– तारन्तार स्कुल जान नखोज्ने

–अरूसँग बोल्न नखोज्ने, खेल्न नखोज्ने

–एक्लै (एकोहोरो) भएर बस्ने ।

मानसिक स्वास्थ्य समस्या बिग्रेको थाहा पाउने लक्षणहरू

–आफूलाई मज्जाले निद्रा लागेको छ वा छैन त्यो कुरा ख्याल गर्ने ।

–आफ्नो बानी व्यवहारमा परिवर्तन भएको छ वा छैन ख्याल राख्ने

–सानो कुराले मन दुख्ने, निराश हुने भएको पो छ कि ?

–मनमा धेरै प्रकारका नकारात्मक सोचाई आउने

–डर लाग्ने, तर्सेको जस्तो महसुस हुने

–सानो कुराले पनि छटपटी हुने

–पहिला अरुसँग बोल्ने, घुलमिल हुने गर्ने तर विस्तारै सबैबाट एक्लै बस्न रुचाउने

–केही कुरामा पनि इच्छा, आकंक्षा नहुने

नोट : मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएमा हेल्पलाइन ११६६ मा २४ सै घण्टा मनोपरामर्शदाता उपलब्ध हुन्छन् ।