काठमाडौँ : करुणा फाउण्डेसन नेपाल र जर्मन ह्यान्ड्स प्रोजेक्टको सहकार्यमा कोशी प्रदेशमा २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिएको छ ।
करुणा फाउण्डेसन नेपालबाट कृत्रिम हातको आवश्यकतासम्बन्धी सूचना प्रकाशित भएपछि देशभरका जम्मा ४२८ व्यक्तिहरूलाई कृत्रिम हातको आवश्यकता भएको सूचीवद्ध गरिएको छ।
हात मानव शरीरको अत्यन्तै महत्वपूर्ण अंग हो, जसले लेख्ने, पकाउने, सरसफाइ गर्ने, व्यवसायिक काम गर्ने, सवारी साधन चलाउनेदेखि हरेक दैनिकी सहज बनाउन सहयोग पुर्याउँछ। हातको अभावले दैनिक जीवन, आत्मविश्वास र रोजगारीमा ठूलो असर पार्दछ।
यसै पृष्ठभूमिमा, करुणा फाउण्डेसन नेपालले जर्मन ह्यान्ड्स प्रोजेक्टसँगको सहकार्यमा आगामी कात्तिक १७ गतेदेखि २६ गतेसम्म, २०८२ इटहरीमा निःशुल्क हल्का, सहज र प्राकृतिक देखिने कृत्रिम हात वितरण तथा जडान कार्यक्रम सञ्चालन गर्न लागेको छ।
यस कार्यक्रममार्फत पहिलो चरणमा २०४ जनालाई कृत्रिम हात जडान गरिनेछ। लाभग्राहीहरूको विवरण देशभरबाट सङ्कलन गरिएको भए पनि पहिलो चरणमा कोशी प्रदेशका लाभग्राहीहरूलाई कृत्रिम हात निःशुल्क वितरण गर्न लागिएको हो।
कृत्रिम हात जडानको लागी जर्मन, न्युजिल्याण्ड र युगान्डाका विज्ञहरू सहितकाप्राविधिक टोली छिट्टै नेपाल आइपुग्दै छन्।कृत्रिम हात जडानपछि लाभग्राहीहरूले आफ्नो दैनिकीका कामहरू-खाना पकाउने, लेख्ने, वस्तु समात्ने, कपडा लगाउने, खेतीपाती तथा व्यवसायिक कामहरू गर्न सहजता अनुभव गर्न सक्ने छन्। यसले उनीहरूलाई आत्मनिर्भर, उत्पादक र सम्मानजनक जीवनतर्फ फर्काउन सहयोग पुर्याउने छ।
प्रतिदिन २० देखि २५ जना लाभग्राहीहरूलाई दुईवटा समूहमा विभाजन गरी कृत्रिम हात जडान गरिने छ। कोशी प्रदेशका भोजपुरका १०, इलामका ३, झापाका ६१, खोटाङका २५, मोरङ्गका १४, ओखलढुंगाका १९, पाँचथरका २२, सोलुखुम्बुका ८, सुनसरीका ८, तेह्रथुमका २ र उदयपुरका २५ जनालाई कृत्रिम हात वितरण हुने छ।यस सहयोगी अभियानले हात गुमाएका व्यक्तिहरूलाई पुनः आत्मबल प्रदान गर्दै, उनीहरूलाई आफ्नै प्रयासले जीवन धान्न र समाजमा योगदान दिन प्रेरित गर्ने विश्वास लिइएको फाउण्डेसनले जनाएको छ।