14.4c Kathmandu, Nepal

Monday, November 10, 2025
२ हप्ता अगाडि

एक महिनादेखि जिल्ला अस्पताल बाजुरामा जीवनजलको चरम अभाव

११ कात्तिक, बाजुरा । जिल्ला अस्पताल बाजुरामा विगत एक महिनादेखि जीवनजलको चरम अभाव भएको छ ।

अघिल्लो आर्थिक वर्षमा खरिद गरेको चाँडै सकिएको र नयाँ खरिद प्रक्रिया ढिलाइ भएकाले अस्पतालमा जीवनजलको चरम अभाव भएको सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।

जीवनजल अभाव हुँदा झाडापखाला र जलवियोजनका विरामीले जीवनजल निजी अस्पतालबाट किनेर खानुपर्ने बाध्यता रहेको छ ।

अस्पतालमा ९८ प्रकारका औषधि निशुल्क विरामीलाई दिनुपर्ने रहेको छ । निशुल्क औषधि अन्तर्गत जीवनजल अति आवश्यक पर्ने अन्तर्गत पर्ने गर्छ, तर महिनौ सम्म पनि जीवनजल अभाव हुँदा अस्पताल बेखबर बनेको स्थानियले बताएका छन् ।

जीवनजल झाडापखालाका विरामीका लागि अत्यावश्यक मानिने गरेको छ ।

झाडापखाला तथा शरिरमा जलवियोजन भएको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल नपाउँदा विरामी समस्यामा परेको स्थानिय सन्तोष बिकले वताएका छन् ।

अस्पतालमा दैनिक १ सय ८० देखि २ सय सम्म विरामी आउने गरेका छन् ।

त्यसमध्ये १२ देखि १८ जनालाई जीवनजल आवश्यक पर्छ, तर एक महिना देखि अभाव भएको सुचना अधिकारी गिरीले बताएका छन् ।

यो आर्थिक वर्षको औषधि खरिद प्रक्रिया अघि बढिसकेको छ । अस्पतालमा जीवनजल आउन अझै एक महिना जति लाग्ने अस्पतालले जनाएको छ ।

एकातिर औषधि खरिदका लागि बजेट पर्याप्त छैन्, यो आर्थिक वर्ष औषधि खरिदका लागि २५ लाख मात्र बजेट रहेको अस्पतालले बताएको छ । यो बजेट धेरै कम रहेको अस्पताल स्रोतले बताएको छ ।

जीवनजल निशुल्क उपलब्ध हुने औषधि मात्र नभइ अत्याआवश्यक हुने औषधि हो ।

अभाव भएको धेरै समय भइसक्दा पनि परिपूर्तिका लागि कतै बाट ध्यान नगएको स्वास्थ्यकर्मीले बताएका छन् । धेरै विरामीलाई जीवनजल आवश्यक पर्ने गर्दछ, बजारमा गएर किन्न भन्ने गरेको उनले बताए ।

बाजुराका अन्य केही स्वास्थ्य संस्थामा समेत जीवनजल नरहेको पाइएको छ ।

स्थानिय तहले औषधि खरिदमा ढिलाइ गरेका कारणले स्थानिय स्वास्थ्य संस्थामा समेत जीवनजल अभाव भएको हो । स्वास्थ्य संस्थामा जीवनजल अभाव भएको लामो समय भइसक्दासम्म सम्बन्धित निकाय बेखबर जस्तो बनेका छन् ।