14.4c Kathmandu, Nepal

Monday, November 10, 2025
४ हप्ता अगाडि

अनमीको पाँच घण्टाको प्रयासले नवजातलाई नयाँ जीवन

 बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिँदै एक शिशुको ज्यान बचाएकी छन्। गौमुल गाउँपालिका–१ माडीकी २९ वर्षीया निशा बोहराले असोज २० गते जन्म दिएकी शिशुलाई थापाले असाधारण धैर्य र समर्पणका साथ जीवन प्रदान गरेकी हुन्।

निशालाई उनका आफन्तहरूले सुत्केरी गराउन माडी सामुदायिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए। स्वास्थ्य संस्थामा आइपुग्दा शिशुको टाउको पाठेघरभित्र अड्किएको र खुट्टा बाहिर निस्किएको अवस्था थियो। स्वास्थ्यकर्मीहरूले कठिन प्रयासपछि हातले शिशु निकाले, तर जन्मिएलगत्तै शिशुले श्वास लिन सकेको थिएन।

“जन्मेको बच्चा निसासिएको थियो, श्वास चलिरहेको थिएन। सबैले बच्चाको मृत्यु भइसकेको ठानेका थियौँ,” अनमी थापाले भनिन्।

तर, उनले आश छाडिनन्। श्वास फर्किन सक्छ भन्ने विश्वासमा थापाले लगातार कृत्रिम श्वास दिन थालिन्। बिस्तारै शिशुको मुटुको धड्कन चल्न थालेपछि उनले प्रयास अझै जारी राखिन्। दिउँसो पौने ४ बजे जन्मिएको शिशुले राति करिब साढे ९ बजे आएर मात्र नियमित रूपमा श्वास फेर्न सुरु गरेको थापाले बताइन्।

“पाँच घण्टासम्म लगातार कृत्रिम श्वास दिएँ। लामो प्रयासपछि बच्चाले रोयो, त्यसपछि चम्चाले दूध खुवायौँ। बिस्तारै उसको स्वास्थ्यमा सुधार आयो,” उनले सम्झिइन्।

जोखिमपूर्ण अवस्थामा सुत्केरी गराएकी निशा र नवजात शिशु दुवैको अवस्था अहिले सामान्य रहेको माडी सामुदायिक स्वास्थ्य केन्द्रले जनाएको छ।