काठमाडौँ, १८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतम र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।शिष्टाचार भेटवार्तामा दुई देशबीचको स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दीगो र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
भेटवार्तामा परम्परागत चिनियाँ औषधि र आयुर्वेद स्वास्थ्य सेवाबीचको सहकार्य, नेपालमा औषधीय जडीबुटीको उत्पादन तथा प्रशोधन, आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरण, र नेपालमै अत्याधुनिक जीन प्रयोगशाला स्थापना गर्ने विषयमा समेत छलफल भएको छ।
राजदूत सोङले चीन सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।
त्यस्तै, भेटका क्रममा मन्त्री शर्माले क्यान्सर उपचार, अस्पताल सेवा सुदृढीकरण साथै कोभिड–१९ महामारीका समयमा चीन सरकारले नेपाललाई प्रदान गरेको सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।