काठमाडौँ – कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक मात्रा विषादी भेटिएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटीले सोमबार गरेको परीक्षणमा मकवानपुरबाट ल्याइएका अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका अनुसार, सोमबार १५ थरीका तरकारीमा गरिएको परीक्षणमा अकबरे खुर्सानीमा विषादीको मात्रा सबैभन्दा बढी भेटिएको हो । जाँचको क्रममा रोकावट प्रतिशत ४५ भन्दा माथि आएको हुनाले यो खुर्सानी उपभोग गर्न अयोग्य मानिने समितिको भनाइ छ ।
नेपालमा विषादी परीक्षणका क्रममा ‘कार्बामेट’ र ‘अर्गानोफस्फेट’ का रासायनिक पदार्थहरूको मात्र परीक्षण हुने गरेको छ । प्रयोगशालाले रोकावट प्रतिशत ३५ भन्दा कम भएमा तरकारी उपभोगयोग्य, ३५ देखि ४५ बीच भए केही समय राखेर खान मिल्ने, र ४५ भन्दा माथि भए उपभोग गर्न अयोग्य ठहर्याउने मापदण्ड प्रयोग गर्दै आएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाका अनुसार देशभरका १२ वटा कृषि थोक बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामार्फत नियमित परीक्षण हुँदै आएको छ । परीक्षणको नतिजा उपभोगका लागि अयोग्य ठहरिएपछि सम्बन्धित बजार विकास समितिले ती तरकारी नष्ट गर्ने प्रावधान छ ।
यसअघि पनि रायो साग, काँक्रा, घिरौंला, हरियो फर्सी, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, तनेबोडी र हरियो धनियाँलगायतका तरकारीमा पनि अत्यधिक विषादी भेटिएको थियो ।