14.4c Kathmandu, Nepal

Monday, July 20, 2026
१० महिना अगाडि

नर्सिङको विदेश पलायन बढ्दो, उत्पादन घट्दो : सेवामा चरम संकटको खतरा

“स्वास्थ्यको रिफर्म भनेकै नर्सिङ केयर हो। चिकित्सक नभए पनि अस्पताल चल्छ तर नर्स नभए अस्पताल ठप्प हुन्छ।”

काठमाडौं । कामले आफ्नो पेशालाई कति प्रसिद्ध गराउँछ भन्ने उदाहरण संसारमै धेरै पाइन्छ। कोमामा पुगेका पेशा कुनै एक व्यक्तिको अदम्य प्रयासले आमूल परिवर्तन भएको इतिहास पनि छ। त्यसको प्रत्यक्ष उदाहरण हो—नर्सिङ पेशा।

१९ औं शताब्दीको मध्यतिर इटालीकी फ्लोरेन्स नाइटिङ्गेलले नर्सिङलाई नै विश्व चर्चित पेशा बनाइन। नाइटिङ्गेलभन्दा अघिसम्म नर्सिङलाई घृणित मानिन्थ्यो, नर्स भन्न पनि मानिसहरू लजाउँथे। तर आज, नाइटिङ्गेलको योगदानले जगाएको उज्यालो फेरि धमिलिन थालेको छ। कारण हो– व्यक्तिवादी स्वार्थ, व्यापारिकरण र विदेशी पलायन।

अस्पतालमा नर्स अभाव

नर्सिङ पेशा अहिले विदेशी रोजगारीतर्फ आकर्षण र व्यावसायीकरणको चपेटामा परेको छ। यसले गर्दा देशमै सेवा दिने नर्सिङ जनशक्ति अभावमा छ। सरकारीदेखि निजी अस्पतालसम्मले हरेक महिना नर्स भर्ना गर्न विज्ञापन निकाल्नु परेको अवस्था छ।

नेपाल नर्सिङ काउन्सिलको तथ्यांकअनुसार हालसम्म ८६ हजार १५७ नर्स दर्ता भएका छन्। तर, कति सेवामा छन्, कति अवकाशप्राप्त भए वा मृत्यु भए भन्ने विवरण छैन।

देशभरका १२५ सरकारी अस्पतालमा १४ हजार ९९ दरबन्दीमध्ये ९ हजार ५१ मात्र सेवामा छन्। ४ हजार १२१ दरबन्दी खाली छन्। निजी मेडिकल कलेजमा ६ हजार नर्स कार्यरत छन् भने निजी अस्पताल, क्लिनिक र डायग्नोस्टिक सेन्टरमा करिब २० हजार नर्स काम गर्छन्। यसरी निजी क्षेत्रमा मात्रै २६ हजार नर्स छन्।

तर, सरकारी अनुमानअनुसार ६ हजारभन्दा बढी नर्स विदेश पलायन भइसकेका छन्।

उत्पादनमा भारी ह्रास

स्वास्थ्य मन्त्रालयको प्रतिवेदनले देखाउँछ—पहिले नेपालमा वार्षिक ७ हजार ३६६ नर्स उत्पादन हुन्थे। तर चिकित्सा शिक्षा आयोगले सिटिइभिटीकामार्फत मात्र पढ्न अनुमति दिएपछि यो संख्या घटेर १ हजार ८ सयमा झर्‍यो।

यसैबीच पलायन तीव्र छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मात्र महिनामा ६–७ जना नर्सले राजीनामा दिने गरेका छन्। स्थायी वा अस्थायी दुवै खालका नर्सहरू अध्ययन वा विवाहका कारण विदेशतर्फ लागिरहेका छन्।

शहीद गंगालाल हृदयरोग केन्द्रमा महिनामा ५–६ नर्स राजीनामा गर्छन्। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार महिनामा ५–६ नर्स विदेश जाने योजनाका साथ जागिर छाड्छन्।

विदेश आकर्षण : भिसा सहज

विज्ञहरूको भनाइ छ—नर्सिङ अध्ययन गरेका व्यक्तिको भिसा अन्य पेशाभन्दा सहज र छिटो लाग्छ। त्यसैले अमेरिका, बेलायत, अस्ट्रेलिया जाने वा त्यहाँ विवाह गरेर बस्ने योजनामा धेरै नर्सिङ पढाइ हुँदै आएको छ।

विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्की भन्छन्, “मोफसलमा नर्सिङ जनशक्तिको चरम अभाव छ।” केही समयअघि कलेजले १ हजार नर्सका लागि विज्ञापन गर्दा २७ मात्र आवेदन आए।

उनका अनुसार, “स्वास्थ्यको रिफर्म भनेकै नर्सिङ केयर हो। चिकित्सक नभए पनि अस्पताल चल्छ तर नर्स नभए अस्पताल ठप्प हुन्छ।”

संकट अझ गहिरिँदै

अधिकारीहरू भन्छन्—सर्टिफिकेट तहको पढाइ रोकिनु नर्स उत्पादनमा ठूलो संकट हो। दक्ष नर्स उत्पादन गर्न मेडिकल कलेजमा स्टाफ नर्सको पढाइ सुरु गर्नु अपरिहार्य छ।

तर चिकित्सा शिक्षा आयोगले अघि सारेको जेनेरल प्राक्टिस नर्सको अवधारणा युरोपमै आवश्यक हो, नेपालमा होइन। उनीहरू भन्छन्, “स्टाफ नर्सको पढाइ रोकेर युरोपका लागि जेनेरल प्राक्टिस नर्स उत्पादन गर्ने योजना सरकारको नभई बिचौलियाको हो।”

डा. कार्की चेतावनी दिन्छन्—”राज्यले तुरुन्तै स्टाफ नर्स उत्पादन बढाएन भने केही वर्षमै बिरामी आफैं नर्स लिएर अस्पताल जानुपर्ने अवस्था आउन सक्छ।”

नर्स–बिरामी अनुपात न्यून

स्वास्थ्य सेवा गुणस्तरीय बनाउने सरकारले गरेको प्रतिबद्धता नर्स–बिरामी अनुपातमा पूरा हुन सकेको छैन।

निर्देशिका–२०७० अनुसार, जनरल कक्षमा प्रति ४–६ शय्यामा एक नर्स, इमर्जेन्सी र पोस्ट अपरेटिभ कक्षमा प्रति २ शय्यामा एक नर्स, आइसियु/एनआइसियु/सिसियुमा प्रति शय्यामा एक नर्स र लेबर बेडमा प्रति बेड २ जना एसबिए तालिमप्राप्त नर्स वा मिडवाइफ हुनुपर्छ।

तर प्रतिवेदन भन्छ—”सरकारी तथा निजी दुवै स्वास्थ्य संस्थामा तोकिएको अनुपात पूरा भएको पाइएन।”

पुराना योजना, असान्दर्भिक प्रक्षेपण

सन् २०११ मा मन्त्रालयले ८ हजार ६९० नर्सिङ जनशक्ति प्रक्षेपण गरेको थियो।

त्यसअनुसार, १ हजार २०४ बर्थिङ सेन्टरसहितका स्वास्थ्य चौकीमा २/२ जना, स्तरोन्नत २ हजार ६३६ चौकीमा पनि २/२ जना, २० ग्रामीण अस्पतालमा ३/३ जना, ६५ जिल्ला अस्पतालमा ४/४ जना, ११ अञ्चल अस्पतालमा १०/१० जना, क्षेत्रीय अस्पतालमा २०/२० जना र १३ केन्द्रीय अस्पतालमा २०/२० जना प्रक्षेपण गरिएको थियो।

तर प्रतिवेदनले स्पष्ट पार्छ—”यी संख्याहरू कुन आधारमा प्रस्ताव गरिएका थिए भन्ने खुलाइएको छैन। यो आफैंमा अव्यावहारिक, अवैज्ञानिक र असान्दर्भिक छ।”

त्यस्तै, २४ घण्टा सञ्चालन हुने बर्थिङ सेन्टरमा २ जना मात्र नर्स प्रस्ताव गरिनु असान्दर्भिक भएको निष्कर्ष पनि प्रतिवेदनले दिएको छ। कारण—ती नर्सहरूले ३ सिफ्टमा काम गर्नुपर्ने, नाइट अफ र डे अफ जस्ता बिदा समेत हुने भएकाले २४ घण्टा सेवा सुनिश्चित गर्न हरेक सिफ्टमा कम्तीमा २ नर्स/मिडवाइफ खटिनैपर्छ।

प्रतिवेदनको मूल्याङ्कनले देखाएको मुख्य विषय भनेको तत्काल नर्सिङ शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता हो। कुनै पनि बहानामा यसलाई ढिला गर्नु उचित ठहर्दैन। किनकि आज सुरु गरिएको नर्सिङ पढाइ पूरा गर्नमै तीन वर्ष लाग्छ, अनि वास्तविक कार्यदक्षता हासिल गर्न थप तीन वर्ष चाहिन्छ। यस हिसाबले दक्ष जनशक्ति आउन कम्तीमा पाँचदेखि छ वर्ष लाग्ने देखिन्छ। त्यसैले नर्सिङ जनशक्ति उत्पादनमा ढिलाइ नगरी सकेसम्म चाँडै पठनपाठन सुरु गर्न सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्ने अधिकारीहरु बताउँछन् ।